लण्डन । प्राध्यापक सूर्यप्रसाद सुवेदीलाई अकस्फोर्ड विश्व-विद्यालय अन्तर्गतको एक्सेटर कलेज को प्राज्ञ सभाले मानार्थ फेलो को पदमा निर्वाचित गरेको छ। कला र साहित्यको क्षेत्रका बिशिष्ट व्यक्ति तथा विज्ञान, प्रविधि, चिकिस्ता शास्त्र, मानविकी, समाज शास्त्र, कानून जस्ता विधामा उत्कृष्ट योगदान दिने शिर्षस्थ विद्वान हरुलाई नियुक्ति गरिने उक्त फेलोसिप अक्सफोर्ड को कलेजहरुले दिन सक्ने
सबै भन्दा ठुलो सम्मान हो। ‘विश्वप्रशिद्ध व्यक्तिहरुको सहभागिता रहेको मानार्थ फेलोमा नियुक्त हुन पाएकोमा हर्षित र गौरवान्वित भएको छु’ सुवेदीले भने ।
उनीसंगै विश्व प्रसिद्ध लेखिका जे के राउलिंग, अर्का वेलायती लेखक द्वय आलन बेनेट र सर फिलिप पुलम्यान, स्पेनकी महारानी सोफिया, घानाका पूर्व रास्ट्रपति डा जोन कुफ़ोउर, जीव बिज्ञान शास्त्री सर जोन आसवोर्थ, नेलसन मण्डेला र डेसमोंड टुटुका वकिल प्रसिद्ध रंगभेद बिरोधि अभियन्ता सर सिड्नी केनट्रीज, पाश्चात्य शास्त्रीय संगीतका लेखक तथा कवि अल्फ्रेड ब्रेनडेल, रोयल अपेरा हाउस का निर्देशक सर आन्टोनियो पापानो, लर्ड स्टेफन ग्रीन र सर डेविड वारेन जस्ता मूर्धन्य व्यक्तित्व हरु अक्सफोर्ड को उक्त कलेजका मानार्थ फेलोमा नियुक्त भएका हुन् ।
अक्सफोर्डबाटै विद्यावारिधि र महाविद्यावारिधि गरेका प्रा सुवेदीको नाममा तिन बर्ष अघि उक्त विश्वविद्यालयले एउटा बार्षिक पुरष्कार स्थापना गरि उनलाई सम्मान गरेको थियो। सुवेदीले अन्तरराष्ट्रिय कानूनका प्राय: सबै आयाम हरुमा एक दर्जन विश्व स्तरका ग्रन्थ र पाँच दर्जन भन्दा बढी अनुसन्धात्मक लेखहरु संसारका ख्यातिप्राप्त जर्नल हरुमा प्रकाशित गरेका छन् ।
उनले मानव अधिकार र अन्तर्राष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी महारानी बाट मानार्थ ओबीई र मानार्थ क्विन्स काउन्सेलजस्ता विशिष्ट कानूनविदहरुलाई दिइने उच्च उपाधि प्राप्त गरेका थिए। नेपालमा जुनसुकै सरकार आएपनि राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानूनका महत्वपूर्ण विषयमा सल्लाह र सुझाव दिंदै आएका छन् ।
सन् १९८९ को भारतीय नाकाबन्दीको समय राजा वीरेन्द्र र परराष्ट्र मन्त्रालयको अन्तर्राष्ट्रिय कानूनी सल्लाहकार भएर, नेपालको नंया नक्सा समावेश गरेर संविधान संसोधन गर्दा र त्यसपछिको नीति निर्माण गर्न सन् २०२० मा प्रधानमन्त्री केपी ओलीको समयमा नेपाल सरकारले गठन गरेको नेपाल–भारत सिमा सम्बन्धि विज्ञ समूहको सदस्यको रूपमा प्रा. सुवेदीले आफ्नो भूमिका निर्वाह गरेका छन् ।
त्यसैगरि सन् २०२२ मा अमेरिकासंगको एमसीसी सम्झौता संसदले अनुमोदन गर्ने कार्यमा उनले दिएको अन्तर्राष्ट्रिय कानूनी सल्लाहले महत्वपूर्ण भूमिका खेलेको थियो ।
हालै मात्र उनले नेपाल सरकार विरूद्धको एनसेल/ आजियटा को ठुलो मुद्दामा अन्तरराष्ट्रिय प्राधिकरणमा सरकारको तर्फबाट प्रतिनिधित्व र प्रतिरक्षा गर्दै हेगमा आफैं उपस्थित भएर प्रा सुवेदीले बहस गरि नेपालको पक्षमा मुद्दा जिताउन महत्वपूर्ण भूमिका निर्बाह गरेका थिए।
नेपालमा द्वीपक्षीय लगानी सम्झौताविरुद्ध काम भएको, राज्यले न्याय नदिएको र कर लगाएको भन्दै एनसेल र आजियटा ग्रुपले अन्तरराष्ट्रिय प्राधिकरणमा दायर गरेको मुद्दामा नेपालको विजय भएको थियो।






