लन्डन । बेलायतमा बसोवास गर्ने नेपालीका घरहरु दिनहुँजसो असुरक्षित बन्दै गएका छन् । विशेषगरि नेपाली तथा एसियनहरु बसोवास गर्ने ठाउंहरुमा सुनका गरगहना लुटपाट हुने घटनाक्रम निरन्तर बढ्दै गएको छ ।
वर्षौंदेखि नेपालीका घरबाट सुनका गहनाहरु लुटिएका समाचार बाहिरीए पनि यसतर्फ सावधानी अपनाएको पाइँदैन । प्रायजसो विभिन्न अवसरमा गरिने नेपाली जमघटमा फेशन बनिसकेको गरगहनाको प्रतिस्पर्धाकै कारण नेपालीहरु लुटेराको मुख्य आकर्षणको केन्द्र बनेका हुन् ।
सामाजिक संजालको बढ्दो प्रभावका कारण पनि लुटेराहरुलाई थप सहज बनेको छ । घरबाट मात्र नभई बाहिर हिंडडुल गर्दासमेत लगाएका गहनाहरु लुटिने गरेको घटनाहरु फाटफुट सुनिने गरिन्छ ।
भर्खरै मात्र लन्डन हिथ्रो नजिक अमृत गुरुङको घरबाट करिब दुईसय तोला सुनका गरगहना चोरी भएका छन् । घरमा प्रवेश गरेका लुटेराको समुहले घरमा बसिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएर १० देखि १५ मिनेटभित्रै सम्पूर्ण गरगहना तथा नगद लुटेर भागेका थिए ।
बुढीआमा घरमै बस्ने भएकाले आफन्तहरुले पनि सुन राख्न ल्याएर राखेका थिए । तत्कालै प्रहरीलाई खबर गरिएको र प्रहरीले निरीक्षण गरेको भएपनि हालसम्म कुनै टुंगो नलागेको गुरुङले जनाए । दुईदिनअघिमात्र अर्को नेपालीको घरमा पनि चोरीको प्रयास गरिएको सीसीटीभी फुटेजसमेत उनले देखाएका थिए ।
नेपालीहरुको बाक्लो वस्ती भएका स्थानहरु अल्डरसट फार्नबरो, रेडिंग, हंस्लो, फेल्थमलगायतका क्षेत्रमा नेपालीका घरमा चोरी हुने गरेको छ । नेपालीहरुसँग प्रशस्त सुन हुन्छ भन्ने बारेमा लुटेराहरु विश्वस्त भएका छन् भने स्वयं नेपालीहरुको पनि उनीहरुसंग साँठगाँठ रहेको अनुमान गरिएतापानी कुनै प्रमाण भने फेला परेको छैन ।
चोरी भएका गरगहनाहरु भेटिने सम्भावना कमै हुने भएकाले सोको क्षेतिपूर्ति आफूले गरेको घरको ‘कन्टेन्ट इन्स्युरेन्स’ मार्फत गर्न सकिन्छ । तर, ‘कन्टेन्ट इन्स्युरेन्स’ कति रकमको गरेको छ तेस्मा निर्भर गर्दछ । तेसैले घरको इन्स्योरेन्स गर्दा ‘कन्टेन्ट इन्स्युरेन्स’ रकम बढी गर्न सकेको खण्डमा क्षेतिपूर्ति पाउने सम्भावना बढी रहन्छ ।
कसरि सुरक्षित रहने त ?
काउन्सिलर तथा लन्डन बरो अफ हंस्लोका पूर्व मेयरसमेत रहेका बिष्णु गुरुङ घरमा बहुमूल्य गरगहनाहरु नराख्न सुझाउछन् ।
एसियन तथा विशेषगरि नेपालीहरुका घरमा सुनका गहना प्रशस्त हुन्छन् भन्ने लुटेराहरुलाई जानकारी भएकाले उनीहरुले नेपालीको घरलाई नै बढी निशाना बनाउने गरेको गुरुङ बताउछन् । यसरी महंगा सामग्री घरमा राख्दा आफूलाई पनि तनाव हुने, ज्यानको पनि खतरा हुने गुरुङ बताउछन् । यदि राख्नैपरेपानी बैंकको लकरमा लगेर राख्ने, सकेसम्म सुनका गहना कम प्रयोग गर्न उनको सुझाव छ ।
केहि वर्ष अगाडी आफ्नै घरमा लाखौंको गहना तथा नगद चोरी भएको स्मरण गर्दै कृष्ण आचार्य भन्छन् , सकेसम्म नक्कली गहनाको प्रयोग गर्नु नै बुद्धिमानी हुने र सुनका गहना नै राख्नपरे बैंकको लकरमा लगेर सुरक्षित राख्न उत्तम हुन्छ ।
घटना घटिहालेको खण्डमा सामान प्राप्त गर्ने सम्भावना कम भएकाले ‘कन्टेन्ट इन्स्युरेन्स’ को रकम बढी गर्न सकेमा क्षेतिपूर्ति पाउन सकिने उनी बताउछन् । आफ्नो घरमा चोरी हुँदा स्पष्ट रुपमा चिन्न सकिने सीसीटिभी फुटेज उपलब्ध गराउँदासमेत प्रहरीले पक्राउ गर्न नसकेको उनको तितो अनुभव छ । आफूसंग भएका सम्पूर्ण गरगहनाको फोटो राख्न समेत उनको आग्रह छ ।
घरमा मात्र नभई बेलायतमा सुन व्यवसाय गर्दै आएका दुई नेपालीका गहना पसल पनि केहि समयअघि लुटिएका थिए । नेपालीहरुको बाक्लो बस्ती रहेको बेलायतको अल्डरसटमा रहेका अनुग्रह ज्वेलर्स र न्यू लक्ष्मी ज्वेलरीमा लुटेराहरूले गाडीले हानेर सटर फुटाएर गरगहना लुटेका थिए । प्रहरी आएपछि लुटेराहरूले प्रयोग गरेको गाडी घटनास्थलमै छाडेर भागेका थिए ।
लुटपाटका घटना बारम्बार दोहोरिंदा पनि गरगहनाको प्रयोग र यसको प्रदर्शनी गर्ने क्रम नरोकिंदा विगत केहिवर्षयता सैयौंको संख्यामा नेपालीका घरहरु लुटिने गरेका छन् । यस्ता घटनाहरु सार्वजनिक नगरिने र गर्न नचाहने हुँदा आफन्तको माध्यमबाट मात्र जानकारी हुने गर्दछ ।
घटनालाई बाहिर सार्वजनिक गर्न सकेमा मानिसहरुमा सचेतना बढ्ने र घटना नियन्त्रणमा पनि सहयोग पुग्नेछ । एसियन तथा नेपालीहरु वसोवास गर्ने क्षेत्रमा गहन चोरीको घटना अत्यधिक हुने स्थानीय प्रहरिकोसमेत अनुभव छ ।






