लण्डन। बेलायतको पहिलो नेपाली संस्था ‘यती नेपाली एशोसिएसन यूकेमा पिपला देवानको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । सन् १९६० मा स्थापित यति नेपाली एशोसियसन यूकेको आइतबार सम्पन्न २९ औँ राष्ट्रिय अधिवेशनले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
संस्थाको अध्यक्ष पदमा बाचस्पति रेग्मी र पिपला देवानको उम्मेद्वारी दर्ता गराए पनि रेग्मीले सहमतिका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि नयाँ कार्यसमितिको अध्यक्षमा देवान निर्विरोध बनेकी हुन्। उनी संस्थाकी पूर्व अध्यक्ष हुन्।
यसैगरी महासचिव पदमा पनि दुई उम्मेद्वारी परेकोमा सिद्धार्थविक्रम भन्डारीले फिर्ता लिएपछि टंक भट्टराई निर्विरोध भएका हुन् । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सूर्यकुमार नेम्वाङ, उपाध्यक्षमा हिमाकुमारी गुरुङ, महासचिवमा टंक भट्टराई, उपमहासचिवमा आशिष पन्त र कोषाध्यक्षमा पूण्य रेग्मी निर्वाचित भएका छन् ।
त्यसैगरि, सामाजिक सचिवमा रमेश अर्याल, खेलकुद सचिवमा राज पाण्डे, साँस्कृतिक सचिवमा दीपक मैथाने मगर र प्रकाशन सचिवमा आशिष महर्जन निर्विरोध भए । सदस्यहरुमा अशोक ढकाल, सागर शर्मा, भिम तामाङ, जेनिश गिरी, सुष्मा पौडेल, मीनाकुमारी प्रधान र मनिकला राई गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।निर्वाचन प्रमुख आयुक्त उमेशराज मोक्तानले निर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराए ।
मोक्तान संयोजक रहेको निर्वाचन समितिमा राजकुमार त्रिपाठी सदस्यसचिव तथा राजेन्द्र पुडासैनी, राजन खकुराल, शंकर दाहाल, विपिन निरौला र मिन बांनिया सदस्य थिए ।
छ दशक पुरानो संस्था यतिमा योपटक इतिहासमै सबैभन्दा धेरै ६ सय ८७ जनाले सदस्यता लिएका छन् ।






