गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संग भेटघाट गरेको छ । भेटका क्रममा प्रधानमन्त्री दाहाललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिएको छ ।
सो अवसरमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले हालसम्म संघले गरिआएको काम, नेपाल सरकारको तर्फबाट संम्बोधन भइ आएका विषयहरु र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानूनी सुधार सम्बन्धमा संघको तर्फबाट धारणा राखेकी थिइन् ।
यस्तै, संघका अध्यक्ष बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाईबारे जानकारी गराउँदै ती कठिनाईलाई तत्काल सम्बोधन गर्न आग्रह गरे ।
विदेशमा रहेका बहुसंख्यक नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने, विदेशमा कामका शिलशिलामा अंगभंग भएका नेपालीलाई स्वदेश फिर्ता गर्नुका साथै उनीहरुका परिवारलाई आर्थिक सहायतासहित पुर्नएकीकरण लगायतका विषयमा नेपाल सरकारले पहलकदमी लिनुपर्ने माग अध्यक्ष केसीले संघका तर्फबाट राखे ।
यस्तै, संघका अध्यक्ष कुल आचार्यले संघले उठाएको गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न अनुरोध गरे । ‘एक पटकको नेपाली सदैव नेपाली’ हुने भन्दै अध्यक्ष आचार्यले विविध कारण अन्योलमा परेको नागरिकताको विषयलाई यथाशक्य छिटो टुंगो लगाउन संघका तर्फबाट आग्रह गरे ।
जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका लाखौ नेपालीहरुको मन जित्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले भने, ‘विदेशमा लाखौं नेपालीहरु छन्, मैले मेरो दोस्रो कार्यकालसम्म एनआरएनएले उठाएका मागहरु सम्बोधनका लागि प्रयास गरे र अब मेरो तेस्रो इनिंग्स्मा विदेशमा बस्ने बहुसंख्यक नेपालीको मन जित्छु ।
‘ भेटमा प्रधानमन्त्री दाहालले नेपालमा विद्यमान कतिपय कानूनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई नेपाल सरकारले क्रमशः सच्याउँदै आएको र अबको दिनमा पनि कानूनी उल्झनलाई पन्छाउने प्रयास आफ्नो तर्फबाट जारी रहने बताए।
संघको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै उनले भने, ‘नेपालका कतिपय परम्परागत ऐन कानून छन्, जसले म नेपालका लागि केही गर्छु भन्नेलाई पनि बाधा व्यवधान खडा गरेको छ, तपाईहरुलाई विश्वस्त पार्न चाहान्छु कि, म त्यस्ता खालका पर्खाललाई भत्काउनेछु ।
‘ विदेशमा रहेका नेपालीहरुले नेपाल र नेपालीको पहिचान विश्वमाझ पुर्याउन ठूलो भूमिका निर्वाह गरेको भन्दै गैरआवासीय नेपालीप्रति प्रधानमन्त्री दाहालले आभार व्यक्त गरे। राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक रुपमा विश्वभर नेपाललाई चिनाउन नेपालीहरु थप संवेदनशील र जिम्मेवार बन्दै गएकोप्रति प्रधानमन्त्री दाहालले खुशी व्यक्त गरे।
भेटका अवसरमा पूर्व अध्यक्ष, भवन भट्ट, संघका संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, संघका उपाध्यक्ष आरके शर्मा, सचिव खगेन्द्र न्यौपाने, महिला सचिव राधिका गुरुङ, सहकोषाध्यक्ष नारायण सुवेदी, युवा संयोजक अब्दुल वसिद, संघका पूर्व सल्लाहकार टिबि कार्की, क्षेत्रीय उपसंयोजक, (मध्यपूर्व) अमित चाम्लिङ राई, एनसीसी रसियाका अध्यक्ष शिवमणि भुर्तेल, आजिवन सदस्य (युएसए) नारायण थापा, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।






