लन्डन । बेलायत भ्रमणका क्रममा नेपाली दार्शनिक एवं युवा विद्वान् चैतन्य कृष्णले बेलायती संसदमा प्रवचन दिनुभएको छ । कृष्णले ‘सनातन धर्मको सन्देश’ विषयक एक कार्यक्रममा संस्कृत भाषामा सम्बोधन गर्नुभएको हो । संस्कृति सेन्टर लन्डनको आयोजनामा मंगलबार भएको सो कार्यक्रम एमपी बब ब्ल्याकम्यानको संयोजनमा भएको थियो ।
स्वास्थ्य क्षेत्रसँग सम्बन्धित डाक्टर तथा विभिन्न चिकित्सकहरूको समेत सहभागिता रहेको सो कार्यक्रममा बेलायतमा हिन्दू धर्म र अन्य कम्युनिटीहरूबीच अनुभव आदानप्रदान गरिएको थियो । नेपाली समुदायको तर्फबाट अतिथिको रुपमा चैतन्य कृष्ण र पण्डित दुर्गाप्रसाद पोख्रेलको सहभागिता थियो ।
हरेक वर्ष आयोजना हुने ‘पार्लियामेन्ट्री वीक’ अन्तर्गतको उक्त कार्यक्रममा ‘सोसियो कल्चरल वेल बिइङ’ विषयमा छलफल गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै चैतन्य कृष्णले संस्कृत भाषामा पूर्वीय दर्शनमा स्वास्थ्यलाई कसरी हेरिन्छ र योग, वेद र स्वास्थ्यको अन्तरसम्बन्धबारे प्रष्ट्याउनु भएको थियो । उहाँले विशेषगरी वैज्ञानिक प्रमाणद्वारा धार्मिक–आध्यात्मिक ज्ञानविज्ञानको बारेमा तुलनात्मक विश्लेषण र व्याख्या गर्दै आउनुभएको छ ।
‘सबै सुखी एवं निरोगी रहुन्, विश्व एक परिवार हो, सबैले सबैसँग मित्रभावले व्यवहार गरून्, वेदले समता सिकाउँछ वेदमा भेद छैन, हामी असत्यबाट सत्यलाई, अध्यारोबाट उज्यालोलाई र मृत्युबाट अमरतालाई प्राप्त गर्न सकौं वेदले यही सिकाएको छ’ उहाँले भन्नुभयो ।
सोही अवसरमा पण्डित दुर्गाप्रसाद पोख्रेलले अंग्रेजी, हिन्दी तथा नेपाली भाषामा आफ्नो धारणा राख्नुभएको थियो । उहाँले आफ्नो सृजनामा नेपाली कविता पनि वाचन गर्नुभयो ।
‘संस्कृति सेन्टर लन्डनले आयोजना गरेको कार्यक्रम निकै उत्कृष्ट रह्यो, स्वास्थ्य अधिकारी, प्राध्यापक, व्यवसायी तथा विद्यार्थीहरूको समेत जमघट रहेको सो कार्यक्रममा बेलायत भ्रमणमा रहनुभएको चैतन्य कृष्णज्यूलाई परिचित गराउनुका साथै उहाँलाई संस्कृत भाषामा सम्बोधन गर्ने अवसर मिल्यो, नेपाल र नेपालीकासाथै हिन्दू धर्मलाई समेत सम्मान मिलेको छ’ पोख्रेलले भन्नुभयो
।
चैतन्य कृष्णले बेलायत बसाइका क्रममा इंग्ल्याण्ड र स्कटल्याण्डका थुप्रै स्थानमा अहिले श्रीमद्भभागवद् गिताको सान्दर्भिकता विषयमा प्रवचन दिनुभयो । हर्डसफिल्ड युनिभर्सिटीका डीन र प्रफेसरहरूसँग अन्तरक्रियासहित त्यहाँको हिन्दू मन्दिर, डार्वी, डाट्फोर्ड, ह्यारो, वाटफोर्ड, कोभेन्ट्री, बर्मिङ्घम, ग्लास्गो, एडिनबरा, नेपाली दूतावास आदिमा पनि प्रवचन र अन्तरक्रिया कार्यक्रम भएको उहाँले बताउनुभयो।
उत्तरवाहिनी कालीगण्डकीको विशिष्ट महत्त्व उजागर गरी धार्मिक पर्यटनको प्रबर्द्धन र विकास गर्ने, सो क्षेत्रलाई विश्वमा चिनाएर पर्यटनबाट राष्ट्रलाई नै समृद्ध बनाउने लक्ष्य राखी उहाँले स्याङ्जा जिल्लामा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान स्थापना गर्नुभएको छ ।
कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान बेलायतमा पनि दर्ता भइसकेको उहाँले जानकारी दिनुभयो । ‘बैंकको काम पूरा गरेर च्यारिटीको अन्तिम तयारी भइरहेको छ, बेलायतवासी नेपालीहरुको साथ र सहयोग मिलेको खण्डमा धेरै महत्वपूर्ण सेवा र सुन्दर कार्य गर्नेछौं’ उहाँले भन्नुभयो ।
‘गयामा सय पटक पिण्डदान गरेर पाइने फल कालीगण्डकीमा एकपटक पिण्डदान गर्दा नै मिल्छ । प्रयाग, कुरुक्षेत्र र नैमिषारण्यमा गएर सयपटक स्नान गरेर पाइने फल कालीगण्डकीमा एकपटक स्नान गर्नाले नै पाइन्छ । त्यसमा पनि कालीगण्डकी जहाँ उत्तरवाहिनी भएकी छन् त्यहाँ स्नान गर्नाले करोडौं गुणाबढी फल पाइने कुरा शास्त्रमा उल्लेख रहेको उहाँले सुनाउनुभयो ।






