बेलायतको ५७ औँ प्रधानमन्त्रीमा भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक नियुक्त भएका छन् । सोमबार सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा सर्वसम्मत चुनिएका सुनाकलाई मंगलबार राजा चार्ल्स तृतीयले देशको प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त प्रधानमन्त्री सुनाक बेलायतको इतिहासकै पहिलो अश्वेत एवम् हिन्दू प्रधानमन्त्री हुन् भने उनी दुई सय वर्षयताकै सबैभन्दा कम उमेरका बेलायती प्रधानमन्त्रीको कीर्तिमानीसमेत कायम गरेका छन् । सन् २०१५ देखि बेलायतको योर्कशायर क्षेत्रबाट सांसद रहंदै आएका सुनाकले सांसद बनेको ७ वर्षभित्रै बेलायतको प्रधानमन्त्री बनेर अर्को किर्तिमान पनि बनाएका छन् ।
सन् २०२० को फेब्रुअरीमा तत्कालिन प्रधानमन्त्री बोरिस जोन्सन नेतृत्वको सरकारमा अर्थमन्त्री बनेपछि बेलायती राजनीतिको फ्रन्टलाइनमा आएका थिए सुनाक । कोभिड महामारीका बेला उनकै अगुवाइमा आएका विभिन्न राहत कार्यक्रमले उनलाई जनस्तरमा पनि लोकप्रियता दिलाएको थियो।
सन् १९८० मा बेलायतको साउथ ह्याम्प्टनमा जन्मिएका सुनाकका भारतीय मूलका बाबुआमा पूर्वी अफ्रिकाबाट बेलायत आएका आप्रवासी थिए।भारतीय धनाड्य उद्ध्योगपति नारायण मूर्तिपुत्री अक्षता मूर्तिसँग वैवाहिक सम्बन्ध गांसेका सुनाक दुई छोरीका पिता हुन्।
प्रधानमन्त्री नियुक्त भएलगत्तै १० डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालय पुगेर सुनाकले देशवासीलाई सम्बोधन गरेका छन्। प्रधानमन्त्रीका रुपमा आफ्नो पहिलो सम्बोधनमा उनले बेलायतलाई अहिले सामना गरिरहेको चरम आर्थिक संकटबाट मुक्ति दिलाउने संकल्प गरे।






