लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा रहेका नेपालीहरुलाई नेपालको आम निर्वाचनमा भाग लिन नपाउनु अन्यायपूर्ण ठहर गरेका छन् ।
राजधानी काठमाण्डौंमा मंगलवार शर्माले गैरआवासीय नेपाली संघद्धारा आयोजना गरेको ग्लोवल कन्क्लेभलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । कालान्तर सम्म प्रवासमा रहेका नेपालीहरुलाई मताधिकारबाट बन्चित गरिनु अन्यायपूर्ण हुने बताउंदै उनले मताधिकार दिन माग गरेका छन् ।
उनले सर्वोच्च अदालतको आदेश अनुरुप तत्काल कानून संशोधन गरेर मताधिकारको व्यवस्था गर्न आग्रह गरे । अहिले प्रस्तावित गैरआवासीय नेपाली नागरिकताले विदेशमा रहेका सबै नेपालीलाई समेट्न नसक्ने धारणा व्यक्त गरेका छन्।
उनले एनआरएनए नागरिकताले आर्थिक, सामाजिक तथा संस्कृति अधिकारका बारेमा प्रष्ट नपारेको बताउँदै गैरआवासीय नेपाली सम्बन्धी ऐन संशोधनमा जोड दिए ।
उनले विदेशमा हाल ८ प्रकारका नेपालीहरु रहेको तर संविधानमा प्रस्तावित एनआरएनए नागरिकताले जम्मा एक प्रकारका नेपालीहरुलाई सम्बोधन गर्ने उल्लेख गर्दै देश बनाउने बेलामा युवाहरु विदेश पलायन हुने क्रम बढ्नु दु:खद विषय भएको जनाए ।
डा. शर्माले म्यानमार, मलेशिया, थाइल्याण्ड र फिजी लगायतका नेपालीहरुको पहिचानको लागि कानून संशोधनको गर्न पनि माग गरेका छन् ।






