लन्डन । बीबीसी मास्टरसेफ प्रोफेसनल्सका सेफ सन्तोष साह र नेपाल फुड्सको संयुक्त रेसिपिमा तयार गरिएका तताएर खान मिल्ने (हिट एण्ड इट) नेपाली खानाहरु अब पहिलोपल्ट विश्वबजारमा उपलब्ध हुने भएका छन् ।
सोमबार बेलायती संसद भवनमा आयोजित पत्रकार सम्मेलनमा आलु बोडी तामा, मुस्तांगको दाल, क्वाँटी, चनाको दाल र मासको दाल जस्ता पाँच नेपाली परिकारहरु तुरुन्तै तताएर खान मिल्ने विशुद्ध नेपाली परिकारहरु सार्वजनिक गरिएको हो ।
नेपालमै उत्पादन तथा तयार पारिएका ती उत्पादनहरुलाई सेफ सन्तोषले बीबीसी मास्टरसेफ प्रतोयोगीताकै बनावट र स्वादमा तयार पारेका हुन् ।सेफ सन्तोषले आफूले तयार पारेको रेसिपिको बारेमा बताउंदै मास्टर सेफमा आफूले नेपाली खानाको मात्र प्रवर्धन गरेको बताउंदै कुनै केमिकलहरुको प्रयोग नगरी रेफ्रिजेरेटरको प्रयोगबिना नै १८ महिनासम्म भण्डारण गर्न मिल्ने नेपाली खाना लिएर आएको उनले बताए ।
निकै लामो परिक्षण र प्रयासका बावजुद नेपाल फुड्सको सहकार्यमा नेपाली परिकार्हरुलाई बजारमा ल्याएको साहले बताए । तताएर खान मिल्ने (हिट एण्ड इट) सम्बन्धि प्रविधि बेलायतमा नभएकाले आफूहरुले भारतमा गएर यसलाई सफलतापूर्वक तयार गरेको उनले बताए । नेपाली खानालाई विश्वसामू चिनाउने उद्दश्यले मास्टर सेफमा गएको र लगातार लागिपरेको बताए ।
डेरी उत्पादन तथा मासुजन्य पदार्थको मिसावट नगरी तयार गरिएका यी नेपाली खानाहरु ‘भिगन’ हरुको लागि पनि उपयुक्त हुने नेपाल फुड्स कम्पनीका निर्देशक विकास नेपालले बताए । सन् २००९ मा बेलायत आएका नेपालले २०१४ मा आफ्नै व्यवसाय सुरु गरि नेपाली परिकारहरुलाई प्रिमियम क्वालिटी, प्रिमियम प्रोडक्ट र प्रिमियम प्याकेजिंगको रुपमा बेलायतमा भित्र्याउने सपना अनुसार आफूले काम गरेको बताए ।
नेपाली बजारलाई मात्र नभएर अन्य समुदायलाईसमेत लक्षित गरि तयार पारिएका सैयौं नेपाली उत्पादनहरु नेपाल फुड्सको ब्राण्डमा क्यानाडा, अष्ट्रेलिया, न्युजिल्यान्ड तथा युरोपलगायतका २४ वटा मुलुकमा उपलब्ध रहेको उनले बताए । युरोपको लागि भने माल्टाबाट वितरण गरिंदै आएको छ ।
कोदोको बिस्कुट, तितेकरेलाको चिप्स, हिमालयन ग्रीन टि, आइस टि, पानीपुरी किट, मोमो मसला, चटपटे भुजिया, टिमुरको स्वादका विभिन्न परिकारहरु यसअघि नै बजारमा आइसकेका छन् । नेपाली पसल तथा अनलाइनमार्फत जहाँसुकैबाट खरिद गर्न सकिने नेपाल फुड्सका उत्पादनहरु नेपालमा पनि ‘दराज’ अनलाइनमा उपलब्ध रहेको नेपालले बताए ।
नेपाली किसानहरुको जीवनस्तर उकास्न आफ्नै च्यारिटी संस्था ‘नेपाल फुड्स फाउन्डेसन’ मार्फत किसानहरुलाई राहत दिने काम भइरहेको उनले नेपालले बताए ।
नेपालमा विभिन्न खालका च्यारिटी संस्था भएपनि नेपाली किसानहरुको जीवनस्तर उकास्न खासै प्रयास नभएकोले नेपालको लागि च्यारिटी क्षेत्रमा काम गर्दै आएको ‘फेजवर्ल्डवाइड ’ नामक संस्थासंग सहकार्य गरि नेपालका किसान र तिनका बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा रोजगारीका दिलाउन काम गरिने उनले जनाए ।
सोहि अवसरमा बोल्दै आफूहरुले नेपालमा आफ्नो संस्थाले शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जन क्षेत्रमा काम गर्दै आएको फेजका निर्देशक बिल्ली कुरियरले बताउंदै नेपाल फुड्स फाउन्डेसनसंग सहकार्य गर्न पाएकोमा खुसि व्यक्त गरे ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल फुड्सलगायत सेफ सन्तोषले नेपाली खानालाई विश्वसामू चिनाउन गरेको प्रयासको प्रशंसा गरे । मास्टरसेफबाट नेपाली खानाको विश्वभर प्रचार भएको र अहिले नेपाली परिकारहरु बेलायती बजारमा उपलब्ध भएकोले व्यापार प्रवर्धनको क्षेत्रमा ठूलो सहयोग पुग्ने बताए ।
नेपालमा उत्पादन गरि तयार पारिएका विशुद्ध नेपाली उत्पादन विश्वभर पुर्याउन र यसलाई अझ बढी विस्तार गर्न राजदूत आचार्यले सुझाए । नेपालका किसान र तिनका बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा रोजगारीका दिलाउन ‘नेपाल फुड्स फाउन्डेसन’ ले गरेको प्रयास र फेज वर्ल्डवाइडसँगको सहकार्यलाई धन्यबाद दिंदै शुभकामना दिए ।
कभर फोटो-कुशल श्रेष्ठ






