लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले अध्यक्ष बन्नको लागि पैसा नै सबैभन्दा ठूलो हो भन्ने भ्रमको अन्त गरिनुपर्ने बताउंदै आगामी महाधिवेशनमा अध्यक्ष पदमा लड्ने घोषणा गरेका छन् ।
अमेरिकाबाट संचालित समाज टाइम्स अनलाइनलाई मंगलवार साँझ दिएको एक अन्तरवार्तामा शर्माले आफू अहिलेका उपाध्यक्षमध्ये वरिष्ठ रहेकाले अध्यक्षमा जानेबाहेक विकल्प नरोज्ने धारणा व्यक्त गरेका छन् । ।
विधान समितिका संयोजकसमेत रहेका डा. शर्माले प्रस्तावित विधानमा वरिष्ठ उपाध्यक्षको पद आफ्नो लागि सिर्जना नगरिएको बताए । उनले वरिष्ठ उपाध्यक्ष पद थप्नु पर्छ भन्ने आवाज पहिलेदेखि नै उठेको बताए ।
अध्यक्षले नीतिगत र सरकारसँग लविङको काम गर्ने र वरिष्ठ उपाध्यक्षले संस्थाको आन्तरिक प्रशासन हेर्ने गरी पद सिर्जना गरिन लागिएको डा. शर्मा बताए । “म अध्यक्ष हुन नसक्ने भन्ने के छ र रु मेरो आँखा त अध्यक्षतिर छ, यहाँ पैसा नभएका प्रोफेशनल मान्छेहरु अध्यक्ष हुन सक्दैनन् भन्ने भ्रम (न्यारेशन) छरिएको छ, त्यो अब चिरिन्छ ।”
संस्थाबाट बाहिरेने कल्पना नगरेको बताउँदै यो अभियान आफूले सुरु गरेका एजेण्डालाई स्थापित गर्न अन्तिमसम्म प्रयास गर्ने उनको भनाइ थियो । “अबको मेरो एजेण्डा भनेकै संस्थालाई बलियो बनाउने हो। त्यसको लागि महासचिव हुँदा एउटा रोडम्याप तयार गरिएको छ त्यो लागू गर्न आवश्यक परे अध्यक्ष नै हुने हो ।
तर हामीले अघि सारेका एजेण्डालाई कुनै व्यक्तिले लागू गर्न तयार रहन्छ भने पनि बाहिर बसेर सहयोग गर्ने हो” । उनले बजार हल्लापछि नलाग्न आग्रह गर्दै पदको लागि भन्दा एजेण्ड स्थापित गर्न आफूले बल गर्ने बताए ।
डा. शर्माले महासचिव बनेपछि स्मार्ट एनआरएनएअन्तर्गत विश्वभर छरिएका ८० भन्दा बढी देशका पन्जिकृत सदस्यहरुलाई केन्द्रीय प्रणालीमा जोड्ने, अनलाइन भोटिङ, निःशुल्क प्रतिनिधि दर्ताजस्ता महत्वपूर्ण निर्णयहरु तथा विशेष महाधिवेशनमार्फत विधान संशोधन गरेर संघलाई रुपमान्तरण बाटोमा अघि बढाएका थिए ।
उनी हाल संघको विधान समितिका संयोजक तथा संस्थाको मर्याक्रममा बरिष्ठ उपाध्यक्षको रुपमा सकृय छन् ।






