लन्डन। लण्डनमा हरेक वर्ष आयोजना गरिने नेपाली मेला सम्भवत: विदेशमा बस्ने नेपालीहरुकै सबैभन्दा ठूलो नेपाली इभेन्ट हो । तमुधिं यूकेद्वारा आयोजना गरिएको नेपाली मेलामा लन्डनस्थित नेपाली दूतावासको समेत सहकार्य रहेको छ । यहि अगस्ट २८ तारिख आइतबार लन्डनको केम्पटन पार्क रेसकोर्समा हुने उक्त मेलाको तयारी ९० प्रतिशत पूरा भएको आयोजक तमुधिं यूकेले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
‘हाम्रो संस्कृति,हाम्रो पहिचान, हाम्रो गौरब’ भन्ने मूल नारा बोकेको नेपाली मेलामा ८ देखि १० हजारसम्म नेपाली तथा विदेशीहरुको समेत उपस्थिति हुने गर्दछ । मेलामा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथी रहनेछन् भने विशेष अतिथिका रुपमा अन्य विभिन्न देशका कूटनीतिज्ञहरु पनि सहभागी हुने अपेक्षा छ ।
आयोजक संस्थाका अध्यक्ष हित काजी गुरुङले नेपाली मेला तमुहरुको मात्र नभइ सम्पूर्ण नेपालीको साझा कार्यक्रम भएकोले यसलाई सफल पार्न सबैको सहयोग, सहभागिताका लागि अपील गरेका छन् । मेला संयोजक एवम् तमुधिं यूके वरिष्ठ उपाध्यक्ष हरि गुरुङले मेलामा ३२ संघसंस्थाले भाग लिने तय भएको छ, जुन अघिल्लो वर्ष १८ वटा मात्र रहेको थियो ।
संस्कार संस्कृतिलाई जगेर्ना, नयां पुस्तालाई मेलामार्फत कुलतमा नलाग्न प्रेरित गर्ने, स्थानीय समुदायसंग मित्रता बढाउने र अन्तरघुलन मेलाको प्रमुख उद्देश्य रहेको उनले बताए ।
मेलामा संघसंस्थाको उत्साहजनक सहभागिता रहेको र दर्शक पनि उल्लेखनीय आउने अपेक्षा गरिएको छ । यसपटक १४ वटा सांस्कृतिक नाच प्रस्तुत गरिनेछ । मेलामा विभिन्न नेपाली खाना तथा अन्य व्यापारिक र च्यारिटीका विभिन्न स्टल राखिने छ। मेलामा प्रस्तुत हुने सांस्कृतिक झांकी र नृत्यका आधारमा उत्कृष्ट हुनेलाई दूतावासले प्रायोजन गरेको ‘एम्बासडर कप’ दिइनेछ ।
त्यस्तै, तमुधिं यूकेका तर्फबाट प्रथम हुनेलाई ११ सय पाउण्ड, दोश्रो हुनेलाई ७ सय पाउण्ड र तेश्रो हुनेलाई ५ सय पाउण्ड पुरस्कार दिइनेछ । एनआरएनए यूकेले प्रायोजन गरेको एनआरएनए कपको पुरस्कार राशी भने यसपटक टुंगो लागेको छैन ।
त्यसैगरी, झांकीमा उत्कृष्ट प्रदर्शन गरि प्रथम हुनेलाई ५ सय पाउण्ड, दोश्रोलाई ३ सय पाउण्ड र तेश्रो हुनेलाई २ सय पाउण्ड दिइनेछ । सांस्कृतिक नृत्यमा उत्कृष्ट पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः ५ सय, ३ सय र २ सय पाउण्ड पुरस्कार दिइने संयोजक गुरुङले जनाए ।
मेला अवसरमा आकर्षक पुरस्कारसहित ‘राफल ड्र’ पनि गराइने छ जसमा प्रथम हुनेलाई अनुग्रह ज्वेलर्सले प्रायोजन गरेको एक तोला सुन दिइनेछ । अन्य आकर्षक राफल पुरस्कार पनि रहेको तमुधिं यूकेले जनाएको छ । मेलामा सहभागीका लागि प्राथमिक उपचार व्यवस्था र आपतकालिन सुरक्षा व्यवस्था पनि मिलाइएको छ ।
एकदिने सो मेलाको कुल खर्च करिब ३७ हजार पाउण्ड अर्थात ५५ लाख नेपाली रुपैयाँ भन्दा बढी हुने आयोजकले बताएका छन् । नेपाली मेलामा नेपाल पत्रकार महासंघ यूके शाखाले पनि विगतमा जस्तै यसपटक पनि आफ्नो सहभागिता जनाउनेछ ।
यसैगरी नेपालबाट बेलायत भ्रमणमा आएका पत्रकारहरु हिमालय टेलिभिजनका राजेन्द्र बानिया, जीवराम भण्डारी (योहो टिभी), टिकाराम यात्री (एपीवान), विक्रम श्रेष्ठ (योहो टिभी), निमेश बन्जाडे (ग्यालेक्सी टिभी), दिवाकर ज्ञवाली (मेघा टिभी ), सन्तोषकुमार देवकोटा (नेपाली पात्रो), स्वरुप आचार्य (इकान्तिपुर) लगायतको पनि उपस्थिति रहनेछ ।






