लन्डन । क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रममा बेलायतस्थित दाजुभाई ब्याण्डका अमितले सांगीतिक प्रस्तुति दिने भएका छन् ।
अगष्ट २१ तारिख फार्नबरोस्थित सामुयल कोडी स्पोर्ट्स कलेजमा हुन् गइरहेको क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रमलाई सांगीतिक बनाउने उद्देश्यले हाल बेलायत तथा युरोप भ्रमणमा रहेका कलाकारहरु लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी, गायक विशाल रायमाझी, गायिका चन्द्रा कार्की, गायक राजन कार्की र मोडेल रीना थापामगरले पनि प्रस्तुति दिनेछन् ।
बेलायती युवामाँझ निकै लोकप्रिय रहेको दाजुभाई ब्याण्डका अमितको उपस्थितिले पछिल्लो पुस्ताका युवा समुदायलाई समेट्ने समाजकी उपाध्यक्ष श्रीमती श्रद्धा थापाले बताइन ।
नेपाली कला संस्कृति परम्परा र रीतिरिवाजलाई निरन्तरता दिंदै भावी पुस्तामाँझ पनि आफ्ना मौलिकपनलाई पुस्तान्तरण गर्ने उद्देश्यले समाजले विभिन्न खालका कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
तर, कोरोना महामारीका कारण पछिल्ला दुईवर्ष भन्दा बढी समय बेलायतमा कुनैपनि सार्वजनिक कार्यक्रमहरु भौतिक रुपमा आयोजना गरिएका थिएनन् ।
कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गर्ने समाजका परिवारलाई सम्मान तथा प्रमाणपत्र पनि वितरण गरिनेछ ।
बेलायतभर छरिएर रहेका क्षेत्री बन्धुहरुलाई एकत्रित गराउने उद्देश्यले आयोजना गरिने उक्त कार्यक्रममा सैयौंको संख्यामा मानिसहरुको र जमघट हुने गर्दछ ।






