लन्डन । आगामी अगष्ट २१ तारिख आइतबार आयोजना हुन गइरहेको क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम संगीतमय हुने समाजका महासचिव दीर्घ केसीले जनाए । हाल बेलायत तथा युरोप भ्रमणमा रहेका कलाकारहरु लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी, गायक विशाल रायमाझी, गायिका चन्द्रा कार्की, गायक राजन कार्की र मोडेल रीना थापामगरले आफ्नो प्रस्तुति दिनेछन् ।
कार्यक्रममा बढी भाषण हुँदा मानिसहरुलाई असहज हुने भएकाले यसपटकको कार्यक्रमलाई केहि फरक बनाउने लक्ष्य राखिएको समाजका अध्यक्ष यज्ञ क्षेत्रीले जानकारी दिए । नेपालबाट आएका ख्यातिप्राप्त कलाकारहरुको जमघटका साथै साथै नजिकिंदै गरेको नेपाली नारीहरुको महत्वपूर्ण पर्व तीजलाई समेत समेट्ने गरि तीजका गीत तथा नृत्य पनि समावेश गरिने क्षेत्रीले बताए ।
प्रत्येक वर्ष आयोजना गरिंदै आएको वार्षिक भेटघाट (हिउँदे भेला) कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो । कोरोना महामारीका कारण पछिल्ला दुईवर्ष भन्दा बढी समय बेलायतमा कुनैपनि सार्वजनिक कार्यक्रमहरु भौतिक रुपमा आयोजना गरिएका थिएनन् ।
नेपाली कला संस्कृति परम्परा र रीतिरिवाजलाई निरन्तरता दिंदै भावी पुस्तामाँझ पनि आफ्ना मौलिकपनलाई पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिंदै आएको हो । कार्यक्रमा मौलिक नेपाली प्रस्तुतिका साथै विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिने समाजका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक महेन्द्र केसीले जानकारी दिए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गर्ने समाजका परिवारलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिने केसीले बताए । बेलायतभर छरिएर रहेका क्षेत्री बन्धुहरुलाई एकत्रित गराउने उद्देश्यले आयोजना गरिने उक्त कार्यक्रममा सैयौंको संख्यामा मानिसहरुको र जमघट हुने गर्दछ ।
कार्यक्रम लन्डनको फार्नबरोस्थित सामुयल कोडी स्पोर्ट्स कलेजमा हुन गईरहेको उक्त कार्यक्रममा उपस्थित हुनको लागि क्षेत्री समाज बेलायतले सम्पूर्ण क्षेत्री बन्धुहरुलाई आग्रह गरेको छ ।






