लन्डन। ग्लोबल आइएमई बैंक यूके प्रतिनिधि कार्यालयको संयोजकत्वमा बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा बुधबार लन्डनमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा विशेष गरि नेपालमा विदेशी मुद्रामा खाता खोल्न र वैदेशिक लगानी सम्बन्धि छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्व र व्यवसायीहरुले गैरआवासीय नेपालीले डलर खाता खोल्न पाउने सुविधा र यसको फाइदाको बारेमा चासो राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले हालै मात्र नेपाल सरकार र राष्ट्र बैंकले व्यवस्था गरेको डलर खाता सम्बन्धि नियम विदेशमा बस्ने नेपालीहरुको लागि निकै उपयुक्त रहेको बताए।
कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र रुस युक्रेन युद्धका कारण थप संकटमा परेकाले गैर आवासीय नेपालीहरुलाई स्वदेशमा लगानी र विदेशी मुद्रामा रकम जम्मा गर्न निकै सहज गरिएको उनले बताए ।
देशकै सबैभन्दा ठूलो बैंकका नाताले ग्लोबल आइएमई बैंकले गैरआवासीय नेपालीहरुको हक हितलाई मध्यनजर गर्दै आएको र अष्ट्रेलिया, बेलायतलगायतका मुलुकमा प्रतिनिधि कार्यालय समेत खोलिसकेको उनले बताए । विदेशी मुद्रामा खाता खोल्दा ४.५ प्रतिशतसम्म ब्याज पाउनुका साथै आवश्यक परेमा फिर्ता लैजानसमेत सहज गरिएको हुँदा सरकारको यो नीति एनआरएनएहरुका लागि निकै लाभदायक रहेको उनले बताए । गैरआवासीय नेपालीसंग आफ्नो बैंकले विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको हुँदा डलर खाता खोल्न पाउने सुविधालाई आफ्नो बैंकले तीव्रताका साथ कार्यन्वयनमा ल्याएको उनले बताए ।
एनआरएनएसंगको सहकार्यमा विभिन्न आयोअजना सुरु भइसकेको र आगामी दिनमा पनि जलबिद्युत, केबलकारलगायतका क्षेत्रमा लगानी गर्न उनले आग्रह गरे । नेपालका सातै प्रदेशमा केबलकार सञ्चालन गर्ने आफ्नो योजना सुनाउँदै ढकालले यी प्रोजेक्टमा लगानीसहित आबद्ध हुन गैरआवासीय नेपालीलाई आव्हान गरे । विदेशमा कम ब्याजमा वचत गरेको सबै रकम स्वदेशमा पठाएर बढी ब्याजको फाइदा लिनुका साथै देशको आर्थिक अवस्थालाई टेवा पुर्याउन उनले अनुरोध गरेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपालको आर्थिक अवस्थाको बारेमा जति हल्ला गरिएको छ त्यो सहि नभएको दाबी गरे । कोभिडका कारण पर्यटन क्षेत्रमा परेको असरले नै नेपालको विदेशी मुद्रामा ह्रास आएको उनले बताए ।
नेपालमा लगानीको प्रसस्त सम्भाव्यता रहेको बताउंदै सबैलाई ढुक्क भएर सबै गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । सुरक्षाको ग्यारेन्टीको बारेमा प्रष्ट्याउँदै उनले भने, ‘विदेशी रकममा जम्मा गरिएको सबै रकम हामी विदेशमा नै लगानी गर्छौं, ढुक्क ढुक्क भएर लागानी गर्नुहोस्’ । देशको आर्थिक अवस्था केहि कमजोर भएपनि ग्लोबल आइएमई बैंकको अवस्था भने सोचेभन्दा फरक रहेको उनले बताए ।
रेमिट्यान्स नै विदेशी मुद्राको महत्वपूर्ण स्रोत भएकाले रकम पठाउन हुन्डी कारोबार नगर्न पनि उनको आग्रह छ । यसको लागि हुण्डी व्यवसायलाई कसरि सम्बोधन गर्ने भन्ने बारेमा सोच्नुपर्ने उनले बताए ।
ग्लोबल आइएमई बैंक यूके प्रतिनिधि अमित चालिसेले डलर खाता खोल्न आवश्यक प्रक्रिया र यसबाट पाउने सुविधाको बारेमा उल्लेख गरे । नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनालले पनि विदेशी मुद्रामा खाता खोल्न सबैलाई आग्रह गरिन । विदेशबाट पठाएको रेमिट्यान्स, पर्यटन र लगानी नै देशको विदेशी मुद्राको स्रोत भएकोले यसमा सबैले सहयोग गर्नुपर्ने उनको धारणा थियो ।
यसैगरी बेलायतस्थित आइएमई लन्डनका प्रमुख एवं समाजसेवी कमल पौडेल, लेफिटनेन्ट कर्णेल टोल खाम्चा मगर, विराज भट्ट, शिवजी श्रेष्ठ,लक्ष्य गुरुङलगायतले आ-आफ्ना धारणा राखेका थिए । कार्यक्रममा सहभागीमध्येबाट राखिएका प्रश्न तथा जिज्ञासाको बारेमा बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले प्रष्ट्याएका थिए । कार्यक्रम सञ्चालन बरिष्ठ च्यार्टड एकाउन्टेड समीर प्याखुरेलले गरेका थिए ।






