लन्डन। लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले दशौँ वार्षिकोत्सव तथा स्थापन दिवस मनाएको छ । आफ्नो स्थापनाको एक दशक पूरा गरेको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा संस्थापक तथा अग्रज सम्मान, मिडिया सम्मान, पत्रकारिता पुरस्कार वितरण, दशौँ वर्ष विशेष स्मारिका विमोचन लगायतका अन्य विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।
शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, अग्रज पत्रकारहरु खगेन्द्र नेपाली र सुमन खरेल, बीबीसी वर्ल्ड सर्भिसमा पर्यावरण रिपोर्टरका रुपमा कार्यरत पत्रकार नवीनसिंह खड्कालगायत बेलायतस्थित नेपाली समुदाय र संघसंस्थाको उल्लेख्य उपस्थिति रहेको थियो । 
समारोहका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पत्रकार महासंघ बेलायतको सक्रियता उदाहरणीय रहेको उल्लेख गर्दै नेपाली पत्रकारहरुलाई थप व्यवसायिक बन्न सुझाव दिए। उनले पत्रकारिता समाजको ऐनामात्र नभएर यसले समाज रुपान्तरणमा पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले पत्रकारिता मर्यादित हुन आवश्यक रहेकोमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शाखाको स्थापनाको दशौँ वर्षगांठका अवसरमा बधाई दिंदै प्रवासका पत्रकारहरुले सूचना सम्प्रेसण मात्र नगरेर स्वदेशका लागि ज्ञान, सीप समेत हस्तान्तरण गरिरहेको बताए। ढकालले गैरआवासीय नेपालीलाई डलर खाता खोल्न भएको सुविधाबारे अवगत गराउंदै यसले व्यक्तिगत लाभमात्र नभएर देशको समृद्धि पनि हुने जनाए। नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले पत्रकार महासंघ बेलायतसँग दूतावासले निकट सहकार्य गर्दै आएको उल्लेख गर्दै पत्रकारहरुलाई दूतावासबाट हुने सहयोग सधैं रहने जनाइन् ।
एनआरएनए आइसीसी उपमहासचिव रामशरण सिम्खडाले पत्रकार महासंघ बेलायतसँग मिलेर अन्तरराष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गरेको स्मरण गर्दै यस्ता सहकार्यहरुको निरन्तरता हुने जनाए। एनआरएनए यूके उपाध्यक्ष नारायण कंडेलले शाखालाई दशौँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना दिए। शाखाका अध्यक्ष ध्रुवराज अर्यालले संस्था स्थापनादेखि आजको दिनसम्म ल्याइपुर्याउन योगदान गर्ने संस्थापक तथा अग्रजप्रति सम्मान व्यक्त गर्दै शाखालाई अभिभावकको रुपमा सहयोग, संरक्षण गर्दै आएको बेलायतको सिंगो नेपाली समुदायप्रति आभार प्रकट गरे। उनले बेलायतमा रहेका नेपाली पत्रकारहरुको साथै यहाँबाट सञ्चालित नेपाली मिडिया समेतको स्तरोन्नतिका लागि शाखाले प्रयास गर्दै आएको सुनाए। कार्यक्रममा अग्रज पत्रकारहरु खगेन्द्र नेपाली र सुमन खरेल, शाखाका पूर्व अध्यक्ष चिरन शर्मा, निवर्तमान अध्यक्ष नरेश खपांगीमगर, फोनिज यूके अध्यक्ष गोमा राना, नेपाल प्रेस युनियन यूके उपाध्यक्ष एभरेष्ट गौतम, पत्रकार ददि सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए। पत्रकार नवीनसिंह खड्काले आफ्नो अनुभव सुनाएका थिए।
‘दशौँ वर्ष विशेष स्मारिका’ विमोचन तथा ’एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार’ वितरण
शाखाले स्थापनाको दश वर्ष पूरा गरेको अवसरमा ‘दशौँ वर्ष विशेष स्मारिका’ प्रकाशित गरेको छ । ५६ पृष्ठको उक्त स्मारिकामा प्रधानमन्त्री शेरबहादुर देउवा, बेलायतका नाली नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, पत्रकारमहासंघ केन्द्रीय अध्यक्ष विपुल पोख्रेललगायतले शुभकामना व्यक्त गरेका छन् । स्मारिकामा बीबीसीमा लामो समय कार्यरत वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, भगिरथ योगी, बीएफबीएस गोर्खा रेडियोका खेम गुरुङ लगायतका डेढ दर्जन बढी लेखहरु समावेश गरिएका छन् ।
समारोहमा यस वर्षको ’एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार’ पत्रकारद्वय नवीन पोखरेल र खेमराज रानाभाटलाई प्रदान गरियो। प्रमुख अतिथि राजदूत आचार्य, समाजसेवी रविजंग लामिछाने र पुरस्कार छनोट समितिका संयोजक प्रा डा तेजेन्द्र फेरालीले ५ सय दुई पाउन्ड नगद र सम्मानपत्रसहितको पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको अन्तमा पत्रकार महासंघ बेलायत शाखाको दशौँ वार्षिकोत्सवको केक काटिएको थियो ।
सचिव मञ्जु भन्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको शुभकामना सन्देशवाचन गरेकी थिइन्। कार्यक्रममा लन्डन, अल्डरसट, साउथ इष्टदेखि रेडिङ, स्वीन्डन र मिडल्याण्डका लेष्टर, बर्मिङहम लगायतबाट नेपाली संघसंस्था र समुदायका प्रतिनिधि सहभागी थिए।






