काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घ ( एनआरएनए ) ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने विश्वास दिलाएका छन् ।
सङ्घले आज यहाँ आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको उद्घाटन गर्दै उनले नागरिकताको विषय सबै सरोकारवालासँग छलफल गरेर टुङ्गो लगाइने बताए ।
उनले भने, ‘तपाईंहरुले गैरआवासीय नेपालीलाई नागरिकताको विषय जतिसक्दो चाडो सम्बोधन गर्न आग्रह गर्दै आउनुभएको छ, यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशीघ्र सम्बोधन गर्ने कुरा पुनः म यहाँहरुलाई आश्वास्त तुल्याउन चाहन्छु ।’
प्रधानमन्त्री देउवाले एनआरएनएले उठाएका जायज मागप्रति सरकार संवेदनशील रहेको र उनीहरुको नेपाल आवागमन सहज गर्नेदेखि लगानी र सम्पत्तिको संरक्षण गर्ने काममा सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले संसारभरि छरिएर रहेका प्रवासी नेपालीलाई मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न अपिल गर्दै विदेशमा आर्जन गरेको पूँजी, ज्ञान र सीपलाई नेपालको विकासमा उपयोग गर्न पनि आग्रह गरे । ‘अब विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यावसायिक ज्ञान, सीप र कौशललाई मुलुकको विकासका लागि उपयोग गर्न सङ्घमार्फत सबै गैरआवासीय नेपालीलाई आग्रह गर्दछु’, उनले भने ।
प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुहरुको उपभोगलाई प्रोत्साहन गर्नसके निर्यात प्रवद्र्धन हुने र नेपाली उद्योगधन्दाको सदुपयोग हुने भन्दै विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगसँग समन्वय र सहकार्य गरेर विदेशी पुँजी नेपाल भित्र्याउने कार्यमा पनि सक्रिय हुन आव्हान गरे ।
प्रधानमन्त्री देउवाले आगामी आर्थिक वर्षको बजेटमा नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा रु पाँच करोडबाट घटाएर रु दुई करोड कायम गरेको, त्यस्तै रु १० करोड सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउने कुरा उल्लेख गरेको बताए । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय भएको उनले बताए ।
प्रधानमन्त्री देउवाले सरकारले विदेशमा बसोबास गरिरहेका नेपालीहरुलाई नेपालका बैंकमा डलर खाता खोल्न सहज गरेको साथै गत जुन १ देखि नेपाल राष्ट्र बैंकले ब्याज दिने गरी वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको बताए ।
उनले नेपालको अर्थतन्त्रलाई टेवा पुग्ने उद्देश्यले गरिएको यो व्यवस्थाबाट संसारभरि रहेका नेपालीहरुलाई डलर खाता खोलेर तथा बचत पत्र किनेर फाइदा उठाउन आग्रह गरे । उनले गैरआवासीय नेपाली समुदायले नेपालमा विसं २०७२ को महाभूकम्पमा पीडितको उद्धार र राहतका साथै सुरक्षित आवास निर्माण तथा कोभिड–१९ महामारीको असहज परिस्थितिमा पिसीआर किट, अक्सिजन उपकरणलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएर हजारौँको ज्यान बचाउन गरेको कामको सह्राना गरे ।
वक्तव्यको पूर्णपाठ
गैर आवासीय नेपाली संघद्वारा आयेाजित कार्यशाला गेाष्ठीकेा समुद्घाटन समारोहमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको सम्बोधन
(२०७९ असार २)
गैरआवासीय नेपाली संघका अध्यक्ष लगायत पदाधिकारी साथीहरू,
स्वदेश तथा विदेशबाट यस कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरू,
उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू !
१. गैर आवासीय नेपाली संघले आयोजना गरेको यो कार्यशाला गोष्ठीमा सहभागी हुन पाउँदा मलाई खुशी लागेको छ ।
२. विश्वभर छरिएर रहेका नेपालीहरूको हक, हित र अधिकारको संरक्षण र संवर्द्धनमा क्रियाशिल गैरआवासीय नेपाली संघ विदेशमा रहेका नेपालीहरूको साझा चौतारी र अभिभावक संस्था भएको हामी सबैलाई अवगत नै छ । यस संघले शुरुदेखि नै विश्वका विभिन्न मुलुकमा फरक फरक पेशा, इलम, व्यवसाय गरेर बसिरहेका नेपालीहरूबीच एकता, सद्भाव र पारस्परिक सहयोग अभिवृद्धिमा काम गर्दै आएको छ ।साथै विदेशमा बसेका नेपालीहरूको पूँजी, प्रविधि र उद्यमशीलतालाई मुलुकको विकास निर्माणका निमित्त उपयोग र परिचालन गर्ने कार्यमा प्रशंसनीय भूमिका निर्वाह गर्दै आइरहेको छ।
३. संघले २०७२ सालको महाभूकम्पको बेलामा भूकम्प प्रभावितहरूलाई राहत प्रदान गर्नेदेखि घरबास गुमाएकाहरूका लागि सुरक्षित आवास गृह निर्माण गर्न सहयोग पुर्याएको छ । साथै, संघले कोभिड-१९ को महामारीले हाम्रो मुलुकलाई आक्रान्त पारेको बेलामा स्वास्थ्य उपकरण उपलब्ध गराई यसको रोकथाममा सघाउ पुर्याएको कुरा हामी सबैको सम्झनामा ताजै छ । यसरी नेपाल र नेपालीलाई अप्ठ्यारो परेको बेला गैर आवासीय नेपाली संघबाट प्राप्त साथ र सहयोगप्रति नेपाल सरकार धन्यवाद व्यक्त गर्न चाहन्छ ।
४. संसारभरि छरिएर रहनु भएका नेपालीहरु नेपालका गैर आवासीय दूतहरु हुनुहुन्छ। तपाईंहरूले विदेशमा नेपाली भाषा, साहित्य, संस्कृति, परम्परा र कलाकृतिको प्रचार-प्रसार गर्न र भावी पुस्तामा हस्तान्तरण समेत गर्न महत्त्वपूर्ण सेतुको काम गर्दै आउनुभएको छ । विदेशीहरूमाझ नेपालको पर्यटकीय सम्पदा र मौलिक विशेषतालाई प्रवर्द्धन गर्न समेत उल्लेखनीय भूमिका खेल्दै आउनु भएको छ । यसलाई आगामी दिनमा पनि निरन्तरता दिँदै विदेशी भूमिमा नेपाली माटो र नेपाली संस्कृतिलाई प्रवर्द्धन गर्न तपाईंहरु सबैले आफ्ना क्रियाकलापहरूलाई थप सशक्त रूपमा अघि बढाउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु।
५. आज विश्वभर छरिएर रहेका नेपालीहरूले विदेशमा नेपालको पहिचान र गरिमा बढाउनुका साथै विभिन्न पेशा, व्यवसायमा संलग्न रही सम्बन्धित देशको विकास निर्माणमा समेत योगदान पुर्याएका छन् । अब विदेशमा आर्जन गरेको पूँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशललाई मुलुकको विकासको लागि उपयोग गर्न म यस संस्थामा आबद्ध सबै गैर आवासीय नेपाली साथीहरूलाई यसै मञ्चबाट आग्रह गर्न चाहन्छु ।
६. नेपाल सरकारले संघको स्थापना कालदेखि नै संघसँग सहकार्य गर्दै आएको छ। तपाईंहरुले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश गर्नका लागि दिनुभएका अधिकांश सुझावहरूलाई मनन गरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा गैरआवासीय नेपालीहरु लक्षित विभिन्न कार्यक्रमहरु घोषणा गरेको छ। आशा छ, उक्त नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनबाट मुलुकको आर्थिक विकासमा तपाईंहरूको उपस्थिति र भूमिका अझ बलियो हुनेछ ।
७. आगामी आर्थक बर्षको बजेट वक्तव्यमा नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा ५ करोड रुपैयाबाट घटाएर २ करोड रुपैया कायम गरेको छ । त्यस्तै १० करोड सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाइएको छ ।
८. यसै गरी धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानूनी व्यवस्था मिलाइने कुरा समेटिएको छ। वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्कासनमा दश प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था पनि गरिएको छ । यसबाट गैर- आवासीय नेपालीहरूलाई नेपालमा विभिन्न माध्यमले लगानी गर्न उत्प्रेरित गर्ने अपेक्षा मैले लिएको छु।
९. यसैगरी वैदेशिक लगानीसम्बन्धी कानून तथा प्रक्रियामा सुधार गर्ने, उद्योग स्थापनाको लागि आवश्यक पर्ने जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने साथै उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लिजमा दिन सकिने व्यवस्था मिलाउने विषय पनि बजेटमा समेटिएको छ। साथै, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष मार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय पनि भइसकेको छ।
१०. हालै नेपाल सरकारले विदेशमा बसोबास गरिरहेका नेपालीहरुलाई नेपाली बैंकमा डलर खाता खोल्न सहज गरेको छ। साथै, विदेशमा रहेका गैर आवासीय नेपालीलाई लक्षित गरी यही जुन १ तारिखदेखि नेपाल राष्ट्र बैंकले आकर्षक ब्याजदर दिने गरी वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको छ। यो तपाईंहरुलाई पनि फाइदा हुने र नेपालको अर्थतन्त्रलाई पनि बलियो बनाउन सहयोगी हुने हिसाबले अघि बढाइएको कार्यक्रम हो । यस अवसरमा म संसारभरि रहेका नेपालीहरुलाई मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न, डलर खाता खोलेर तथा बचत पत्र किनेर फाइदा उठाउन अपिल गर्दछु।
११. गैर आवासीय नेपालीहरूको नेपाल आवागमनमा सहजीकरणदेखि लिएर लगानी र सम्पत्तिको संरक्षण गर्ने सम्मका काममा सरकारले आफ्नो तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने नै छ ।
१२. म एकपल्ट पुनः आज यसै मञ्चबाट संसारभरि फैलिएर रहेका प्रवासी नेपालीहरुलाई आफूसँग रहेको सीप, पूँजी र अनुभव नेपालको विकासमा लगाउन आह्वान गर्दछु। तपाईंहरुले विदेशमा थुप्रै विकास देख्नु भएको छ, आउनुहोस् हातेमालो गरौँ, नेपाललाई पनि तपाईं हाम्रै पालामा एउटा सभ्य, समुन्नत र विकसित मुलुक बनाउ ।
१३. अन्त्यमा गैर आवासीय नेपाली संघको उत्तरोत्तर प्रगतिको कामनाका साथ संघले आयोजना गर्न लागेको गोष्ठीको पूर्ण सफलताको कामना गर्दै मेरो मन्तव्य यहीँ टुङ्ग्याउँछु ।
धन्यवाद !
जय नेपाल !






