लन्डन। नेपाल पत्रकार महासंघको बेलायत शाखाले आफ्नो स्थापनाको दशौँ वार्षिकोत्सव मनाउने भएको छ। आगामी जुलाई महिनाको १० तारिख आइतबार एक विशेष समारोह आयोजना गरी स्थापना दिवस एवंम् १० औं वार्षिकोत्सव मनाउन लागिएको हो ।
हरेक वर्षको जुलाइ १० लाई स्थापना दिवसका रुपमा मनाउने शाखाको निर्णय अनुसार पहिलोपल्ट शाखाले स्थापना दिवस मनाउन लागेको हो । आइतबार शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले स्थापना दिवस एवं १० औं वार्षिकोत्सव कार्यक्रमको संयोजकमा महासचिव नरेन्द्र बस्नेत र सहसंयोजकमा उपाध्यक्ष प्रमिला लावुङ राईलाई चयन गरेको छ।
त्यस्तै, कार्यक्रमको लागि आर्थिक कोष व्यवस्थापनको जिम्मा कोषाध्यक्ष एसके गुरुङ र सहकोषाध्यक्ष सुरेन्द्र इङ्नामलाई प्रदान गरिएको छ। दशौँ स्थापना दिवस समारोहमा एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार वितरण, शाखाका अग्रजहरुको सम्मान, दशौँ वार्षिकोत्सव विशेष स्मारिका प्रकाशनसहित विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरु समेत गरिने शाखाले जनाएको छ।
कार्यक्रममा पत्रकारिता तथा सञ्चार जगतसँग सम्बन्धित राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका अतिथिहरुको साथै बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिहरुको सहभागिता रहनेछ । शाखाको दशौँ वार्षिकोत्सव समारोह अघिल्लो वर्ष नै मनाउनुपर्ने भएतापनि कोरोना महामारीका कारण यो वर्ष मनाउन लागिएको शाखाका महासचिव नरेन्द्र बस्नेतले बताए ।
‘भर्चुअल रुपमा नै गतवर्ष १० औं वार्षिकोत्सव कार्यक्रम गर्ने तयारी गरिएको थियो तर, कोरोना संक्रमण नियन्त्रणमा आएपछि भौतिक रुपमा नै कार्यक्रम गर्ने शाखाको निर्णय अनुसार आगामी जुलाईमा कार्यक्रम गर्ने तय भएको हो’ बस्नेतले भने ।
कार्यक्रम सफल पार्ने उद्धेश्यले शाखाका अग्रज एवम् संस्थापकहरु, पूर्व अध्यक्षहरु, सल्लाहकारहरुसहित समुदायका सरोकारवाला विभिन्न पक्षसँग सल्लाह र परामर्श समेत गर्ने योजना बनाइएको उनले बताए । नेपाल पत्रकार महासंघको वैदेशिक शाखाका रुपमा सन् २०११ मा बेलायत शाखा स्थापना गरिएको थियो।
नवीन पोखरेल संस्थापक अध्यक्ष रहेको शाखालाई चिरन शर्मा र नरेश खपांगीमगर हुँदै अहिले ध्रुवराज अर्यालले नेतृत्व गरिरहेका छन्। शाखाले बेलायतमा क्रियाशिल नेपाली पत्रकारहरुको सीप, क्षमता अभिविद्धिका साथै बेलायत, तथा नेपालमा कार्यरत पत्रकारहरुको प्रोत्साहन र सहयोगका लागि विभिन्न कार्य गर्दै आएको छ।