प्राध्यापक सुवेदीको आत्मवृतान्त प्रकाशित, लमजुङदेखि अक्सफोर्डसम्मको यात्रा

लन्डन । बेलायतको एक प्रतिष्ठित प्राज्ञिक प्रकाशन गृह राउटलेजले बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको आत्मवृतान्त प्रकाशित गरेको छ । सुवेदीको उक्त आत्मवृतान्त लन्डन र न्यूयोर्कबाट एकैसाथ प्रकाशित भएको हो ।

‘मानवअधिकार, कानून र न्यायको क्रियाशिलताः नेपाल देखि नोबेल पुरस्कार मनोनयनसम्मको यात्रा’ नामक उक्त ग्रन्थमा सुवेदीले लमजुङबाट शुरु गरेको जीवन यात्रामा उनी कसरी अक्सफोर्ड विश्वविद्यालयबाट उत्कृष्ट शोधग्रन्थ पुरस्कारसहित विद्यावारिधि गर्ने पहिलो नेपाली, अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि पाउने विरलै व्यक्ति, न्याय र कानूनको क्षेत्रमा संसारकै प्रतिष्ठित व्यक्तित्व र सम्भवतः सबैभन्दा धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय मान सम्मान पाउने नेपाली बन्न पुगे भन्ने विवरण समावेश छ ।

‘यो नेपाली शीर उचाली संसारमा लम्किन्छ, जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छ’ भन्ने कवि भूपी शेरचनको गीत बाट सानै देखि प्रभावित प्रा. सुवेदीले लमजुङबाट काठमाडौँ हुँदै संसार लम्किने क्रममा उनले गरेका काम, प्राप्त गरेका उपलब्धिहरु, जीवनका आरोह अवरोह, संघर्षका गाथाहरु र मानव अधिकार तथा न्याय र कानूनको क्षेत्रमा नेपाल र संसारलाई दिएको योगदानको संगालो उनको आत्मवृत्तान्तमा छ ।

बेलायती महारानीबाट ‘अफिसर अफ द अर्डर अफ द ब्रिटिश इम्पायर’ (ओबिइ) भन्ने उच्च स्तरको उपाधि पाउने पहिलो नेपाली तथा बेलायतका प्रखर कानूनविदहरुले पाउने ‘कुइन्स काउन्सेल’ उपाधि समेत प्राप्त गर्न सफल सुवेदीको आत्मवृतान्तमा एक अन्तर्राष्ट्रिय बौद्धिक व्यक्तित्वको रूपमा उनले कसरी जीवनयापन गर्दै आएका छन् ? संयुक्त राष्ट्र संघको क्याम्बोडियाका लागि मानव अधिकार प्रतिनिधि, बेलायतको परराष्ट्र मन्त्रीको मानव अधिकार सल्लाहकार, अन्तर्राष्ट्रिय प्रकृति संरक्षणको विश्व सम्मेलनको कानूनी सल्लाहकार र अन्तर्राष्ट्रिय कानूनी प्रज्ञा–प्रतिष्ठानको आजीवन प्राज्ञ निर्वाचित भएर संसारलाई कस्तो योगदान दिएका छन् ? साथै अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको ख्याति तथा गौरव बढाउन कस्तो भूमिका निर्वाह गरेका छन् भन्नेबारे पनि उक्त ग्रन्थमा प्रकाश पारिएको छ ।

नेपाल, बेलायत, अमेरिका लगायत पांच देशका सात वटा विश्वविद्यालयमा प्राध्यापन गरेका सुवेदीका कृतिहरु विभिन्न देशका भाषामा अनुदित भइ प्रकाशन भएका छन् । उनको “पूर्वीय सभ्यतामा मानव अधिकार“ भन्ने ग्रन्थ अन्तरराष्ट्रिय रूपमै चर्चित ग्रन्थ हो जसमा उनले नेपाललाई प्राचिनकालमा किन ज्ञानभूमि र तपोभूमि भनेर चिनिन्थ्यो, कति कारणहरुले नेपाल पूर्वीय सभ्यताको उद्गम स्थल हो र कसरी नेपालले भारतीय र चिनिया सभ्यताको सम्बन्ध सेतुको रूपमा भूमिका निर्वाह गरेको थियो भन्ने उल्लेख गरेका छन् ।

उनले मानव अधिकार र अन्तरराष्ट्रिय कानूनको क्षेत्रमा दिएको उत्कृष्ट प्राज्ञिक योगदानको कदर गर्दै अक्सफोर्ड विश्वविद्यालयले उनको नाममा वार्षिक स्थायी पुरस्कार स्थापना गरेको र क्याम्बोडियामा महत्वपूर्ण राजनीतिक सुधारमा गरेको योगदानका लागि उनी नोवेल पुरस्कारका लागि मनोनयन भएको कुराहरु समेत उक्त ग्रन्थमा समावेश छ ।

नेपालमा जनमत संग्रह ल्याउने प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गर्दा जेलसमेत भोगेका प्रा सुवेदीले दोस्रो जनआन्दोलनलाई अन्तरराष्ट्रिय स्तरमा बौद्धिक र नैतिक समर्थन जुटाउन अग्रणी भूमिका निर्वाह गरेका थिए । मानव अधिकार र अन्तरराष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा नेपालले प्रा सुवेदीलाई संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायुक्तको पदमा मनोनित गरेको थियो ।

उनलाई अन्तरराष्ट्रिय स्तरमा नेपाल र नेपालीको ख्याति तथा गौरव बढाउन उल्लेख्य योगदान पुराएको र स्वयं पनि ख्याति प्राप्त गरेको व्यक्ति भन्दै नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभाले मानार्थ प्राज्ञ निर्वाचित गरेको थियो ।

प्रा सुवेदीको आत्मवृतान्त प्रत्येक नेपाली आमाबाबुले पढ्न र आफ्ना छोराछोरीलाई प्रेरणा दिन घरमा राख्न योग्य छ । यो ग्रन्थ निम्न लिंकबाट उपलब्ध गर्न सकिन्छ ।

https://www.taylorfrancis.com/books/mono/10.4324/9781003271543/workings-human-rights-law-justice-surya-subedi

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित