लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले २२ औं राजदूतको रुपमा बुधबार दिउँसो आफ्नो पदबहाली गरेका छन् । आचार्य आजबिहान मात्र कतार एयरको उडानमार्फत् लन्डन आएका हुन् ।
राजदूत आचार्यले आफ्नो भावी कार्य योजनाबारे छलफल गर्ने क्रममा नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय, राजनीतिक, आर्थिक तथा साँस्कृतिक सम्बन्ध अझ सुदृढ बनाउने तथा गैर आवासीय नेपाली नागरिकहरुसँगको सहकार्य अभिवृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरेको दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
त्यसैगरी उनले भूतपूर्व ब्रिटिश गोर्खाको समस्या समाधान आफ्नो प्राथमिकताको विषय रहेको समेत बताएको दूतावासले जनाएको छ । व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनलगायत आर्थिक कूटनीतिका क्षेत्रमा राजदूतावासको भूमिकालाई अझ प्रभावकारी बनाउन राजदूतावासमा एक जना कर्मचारीलाई सम्पर्क व्यक्तिको रुपमा तोकिने योजना राजदूत आचार्यले सुनाएका छन् ।
आचार्यको पदबहालीसंगै गत अक्टुबर २४ देखि राजदूतविहिन रहेको लन्डन दूतावासले नयाँ राजदूत प्राप्त गरेको छ। पछिल्लो चार महिना दूतावासकी उपनियोग प्रमुख रोशन खनालले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
राजदूत आचार्य नेपालका एक अनुभवी कूटनितिज्ञ मानिन्छन् । अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले सन् १९८३ मार्चमा शाखा अधिकृतको रूपमा नेपालको परराष्ट्र सेवामा प्रवेश गरेका थिए। उनले पछि परराष्ट्र मन्त्रालयको सचिवसम्मको जिम्मेवारी सम्हालेका थिए ।
संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि रहिसकेका आचार्यले राष्ट्रसंघमा उपमहासचिवको जिम्मेवारी समेत सम्हालेका थिए।सन् २०१२ अगस्टमा संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले उनलाई उपमहासचिवमा नियुक्त गरेका थिए।