गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समितिको भेलामा सहभागी अध्यक्षहरुले विदेशमा कार्यरत पत्रकारमाथि गालि गल्योज तथा धम्किपूर्ण चेतावनी दिएका छन् । गैरआवासीय नेपाली संघ अमेरिकाको सकृयतामा आइतवार सम्पन्न भेलामा सहभागी अध्यक्षहरुले आफ्नो अनुकुल समाचार नलेख्ने पत्रकारहरुलाई ठेगान लगाईदिने धम्कि दिएका छन् ।
एक दर्जन राष्ट्रिय समितिका अध्यक्षहरु सहभागी भएको बन्दसत्रमा बोल्दै गैरआवासीय नेपाली संघ स्पेनका अध्यक्ष शालिग्राम डुम्रेले संघको निर्वाचनमा आफ्नो पक्षले जिते पछि केही पत्रकारहरुलाई ठेगान लगाउनु पर्ने अभिव्यक्ति दिएका थिए ।
यस्तै गैरआवासीय नेपाली संघ क्यानाडाका अध्यक्ष दिपक गौतमले पत्रकारहरुले संघको केन्द्रीय कार्यालयबाट सूचना लिएर समाचार लेखेको भन्दै आक्रोस पोखेका थिए । पछिल्लो समयमा पंन्जिकृत सदस्यहरुको शुल्क नतिरेको र नेपाल बाढी पहिरोले आक्रान्त भएको बेला अध्यक्षहरु विधान विपरित भेला गर्दै हिडेको भन्दै आलोचना भएका समाचार प्रकाशित भए पछि उनीहरु आफ्नो कमजोरी ढकछोप गर्न आक्रमक भएका हुन् ।
यसैबीच सो भेलाको निष्कर्ष सुनाउन आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको जरो समेत उखेलेर फाल्ने धम्कि आयोजकलेनै दिएका छन् । भेलाका निष्कर्षहरु सुनाईसकेपछि पत्रकारहरुलाई आफ्ना जिज्ञासाहरु राख्न दिएको र ति जिज्ञासाहरुको जवाफ दिने क्रममा आयोजक मध्येकै एक एनआरएनए बेलायतका अध्यक्ष प्रेम गाहा मगरले पत्रकार श्याम लुइटेल र चिरन शर्मालाई जरोसमेत उखलेर फाल्ने धम्कि दिँदै सार्वजनिक बेईज्जति समेत गरेका हुन् ।
पत्रकार श्याम लुईटेल नेपाल पत्रकार महासंघ बेलायतका सल्लाहकार र चिरन शर्मा महासंघ बेलायत शाखाका पूर्वअध्यक्ष हुन् । पत्रकार सम्मेलनमा लुइटेलले एनआरएनएको विधानका धारा उल्लेख गर्दै यसरि बिधान बिपरित भेला आयोजना गर्न हुन्छ र ? भन्ने लगायतका प्रश्न गरेका थिए । शर्मालेपनि विधानकै धारा उल्लेख गर्दै केन्द्रिय समितिनै अवैधानिक भन्ने, फेरि त्यहि केन्द्रिय समितिलाईनै माग राख्ने कसरि बैधानिक हुन्छ ? भन्ने प्रश्न सोधेका थिए ।
त्यस्तै उनको अर्को प्रश्न थियो, कतै यो भेलाले अर्को कुनै पक्षको एजेण्डा बोकेर हिँडेको त होइन ? कार्यक्रमका मूल संयोजक एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले पत्रकारहरुले सोधेका प्रश्नको जवाफ नदिएर तर्किएर एनआरएनए युकेका गाहा मगर पठाएका थिए । गाहामगरले पत्रकारको प्रश्नको मर्ममा प्रवेश नै नगरि सार्वजनिक कार्यक्रममै गाली बेइज्जति शुरु गरेका थिए ।
उनले पत्रकार सम्मेलनमा शर्मालाई आउनै नहुने तर्क गरेका थिए । ‘बेलैमा जानकारि दिन सकिन, त्यसकोलागि म क्षमा चाहन्छु ।’ त्यसपछि गाहामगर बेलायतकै अर्का पत्रकार श्याम लुइटेल माथि खनिए । एउटा बौद्दिक ब्यक्तित्व, पढेलेखेको ब्यक्ति चाहिन्छ भनेर आफू अध्यक्ष भएपछि ‘को मेम्बर’ मा राखेको उल्लेख गरे । त्यसपछि उनले श्यामप्रति आक्रोश पोख्दै भने “म एउटा संस्थाको अध्यक्ष हुँदाहुँदै मसित कुनै सरसल्लाह नगरि प्रश्नहरु गर्नुभयो ।
अहिले बेलायतको ‘को मेम्बर’ मा मैले जसरि तानें त्यसमा मैले दुई पटक सोच्ने बेला आएको छ । किनभने उहाँले सपथ खानुभएको छैन ।” उनले प्रश्नकर्ता पत्रकारहरुलाई अरुद्धारा परिचालित भन्दै भन्दै आरोप लगाए । प्रेम गाहामगर गैरआवासीय नेपाली संघको अध्यक्षका प्रत्यासी कुल आचार्य निकटवर्ती हुन् ।
आचार्यकै सहयोगमा अध्यक्ष भएका हुन् । मगरले भने यूकेको पत्रकारहरुले संस्था भाँड्ने तरिकाको प्रश्न गर्नुभयो । अब मैले यो कार्य समितिमा कुरा गर्नै पर्छ । श्याम लुइटेललाई मैले मनोनित गरेको छु । तपाई जुन तरिकाले यो भेलामा आउनुभयो यसमा मलाई दुख लागेको छ ।”
के चिरन शर्माले एनआरएनए यूकेको फेसबुक ह्याक गरेकै हुन् ? पत्रकार चिरन शर्मामा गैरआवासीय नेपाली संघको अभियानमा र पत्रकारितामा सकृय छन् । उनी नेपाल पत्रकार महासंघ यूकेका पूर्वअध्यक्ष तथा संघको केन्द्रीय पार्षद छन्। उनी वेव तथा मल्टिमिडयामा समेत प्राविधिक रुपमा दक्ष छन् । उनीले गैरआवासीय नेपाली संघ यूकेलाई विगत डेढ दशक बिभिन्न कार्यक्रममा प्राविधिक सहयोग गर्दै आएका छन् ।
विश्वव्यापी कोरोना महामारीका बीच जुमबाट हुने कार्यक्रममा उनले एनआरएनए यूकेलाई सहयोग गर्दै आएका छन् । यसै सिलसिलामा निवर्तमान कार्यसमितिको आग्रहमा नेपालब्रिटेन डट कमले सेटअप गरेको क्रसपोटिङमा एनआरएनए यूकेको फेसबुक पेज समेत जोडिएको थियो ।
एनआरएनए यूकेले क्रसपोस्टिङको लागि अनुमति दिएको हो । उनलाई एनआरएनए युकेले बेलाबेलामा एडमिनको अधिकार समेत प्रयोग गर्न दिदै आएको थियो । (क्रसपोटिङ एडमिनले अनुमति नदिए सम्म गर्न मिल्दैन्) यसअघिनै प्राविधिक रुपमा तयार रहेको फेसबुक क्रसपोस्टिङमा गत महिना अध्यक्षका प्रत्यासी डा. बद्री केसीको घोषणासभा प्रत्यक्ष प्रसारण भएको थियो ।
सो प्रत्यक्ष प्रसारणलाई एनआरएनए यूकेले चिरन शर्माले ह्याक गरेको भन्दै उनी माथिमुद्धा हाल्ने धम्की दिएको छ । नेपालबाट प्रत्यक्षप्रसारण गरिएको सो कार्यक्रममा प्राविधिक रुपमा शर्माको कुनै संलग्नता देखिन्न् । एनआरएनए यूकेले अहिले अध्यक्षका प्रत्यासी कुल आचार्यको अनुकुल भएको प्रचार गरिएको छ तर उनैको इलाकामा आएर डा. बद्री केसीको घोषणसभा हुदाँ कुल आचार्य समूहले शर्मा माथि गालिगलोज तथा मुद्धाको आरोप लगाईएको हो ।
गत एनआरएनए यूकेको निर्वाचनमा शर्माले प्रेमगाहा मगर समूहलाई हराउन हिडेको अभियोगमा उनी माथि बदला लिने तयारी मगर समूहले गरेको छ । यसअघि गत वर्ष गाहामगर पूर्वी लण्डनमा आयोजिक एक कार्यक्रममा बोल्दै आलोचकहरुको जिब्रो कटेर फाल्ने अभिव्यक्ति दिएका थिए ।






