लन्डन । बेलायती सांसदमाथि शुक्रबार भएको हत्याले सांसदको सुरक्षा व्यवस्थामाथि थप चुनौती थपिदिएको छ । सत्तारुढ कन्जरभेटिभ सांसद सर डेभिड अमेसलाई छुरा प्रहार गरि हत्या गरेपछि सुरक्षा व्यवस्थामाथि तुरुन्तै पुनर्विचार गर्न बेलायती गृहमन्त्री प्रीती पटेलले प्रहरीलाई निर्देशन दिएकी छन् । मेट्रोपोलिटन प्रहरीले घट्नालाई इस्लामिक आतंककारी हमलासंग जोडेको बीबीसीले जनाएको छ ।
आफ्नै निर्वाचन क्षेत्र लि अन सि ससेक्सस्थित एक चर्चमा छुरा प्रहार गरि ६९ वर्षीय सांसद डेभिडको हत्या भएको थियो । बेलफेयर्स मेथोडिष्ट चर्चमा आफ्ना मतदातासंग छलफल गरिरहेका बेला मध्यान्ह १२:०५ मा सांसदमाथि कयौं पटक छुरा प्रहार भएको थियो । हत्याको आशंकामा सोमाली मूलका २५ वर्षीय एक ब्रिरिश युवालाई प्रहरीले गिरफ्तार गरेको छ ।
हिरासतमा रहेका व्यक्तिले एक्लै हत्या गरेको भएपनि घात्नाको बारेमा छानबिन भैरहेको सेनाले जनाएको छ । प्रहरीले लन्डन क्षेत्रका दुई स्थानमा खानतलासी गरेको बीबीसीले जनाएको छ । सन् १९८३ देखि सांसद रहँदै आएका डेभिडका श्रीमती र पाँच सन्तान छन् ।
प्रधानमन्त्री बोरिस जोन्सन र लेबर नेता सर केर स्टार्मरले घटनास्थलमा पुगेर शनिबार फूल चढाएका छन् । गृहमन्त्री पटेलले पनि चर्च अगाडि पुगेर श्रद्धान्जली अर्पण गरेका छन् ।