लन्डन । विश्व महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) का कारण हालसम्म संसारभर २२ करोड ७९ लाख मानिस संक्रमित भएका छन् । यिनै संक्रमितमध्ये एक सफल नेपाली व्यावसायी, नियात्राकार अनि एनआरएनएका भूतपूर्व अध्यक्ष जीवा लामिछाने पनि एक हुन् । संक्रमन हुनबाट जोगिन कोरोनाविरुद्ध विभिन्न खोपको प्रयोग गरिंदै आएपनि यसलाई निर्मूल गर्नेअहिलेसम्म कुनै औषधि पत्ता लागेको छैन ।
सामान्यतया दुई डोज भ्याक्सिन लगाएपछि शरीरमा एन्टीबडीको विकास हुने र भाइरससंग लड्ने क्षमता वृद्धि हुने भएकोले कोरोना विरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । खोपको दुवै डोज लगाएपछि लगभग छ महिनासम्म यसले काम गर्ने बताइएको छ र तेसपछि पुन तेस्रो अर्थात बुस्टर डोज लगाउनुपर्ने छ जुन युरोप लगायत बेलायतमा पनि शुरु भैसकेको छ ।
कोरोना भाइरस उत्पति भएको झन्डै दुई वर्ष पुग्न लाग्दा पनि यसको असर भने अझै कम हुन् सकेको छैन । खोपको प्रभावकारीतासंगै मृतक संख्यामा कमी आएपनि संक्रमित संख्यामा भने खासै कमी आएको छैन । दुवै डोज लगाइसकेपछि पनि ढुक्क हुने अवस्था छैन । दुवै डोज खोप लगाईसकेपछि पनि आफू संक्रमित बनेपछि जीवा लामिछानेले कोभिड अनुभव भन्दै आफ्ना अनुभव र सुझावहरु सामाजिक संजालमार्फत शेयर गर्नुभएको छ । आशा छ उहाँको अनुभव र सुझावले अन्य थुप्रै मानिसहरु जो कोरोना संक्रमणबाट पीडित र त्रशित हुनुहुन्छ उहाहरुलाई सहयोग मिल्नेछ र आत्नाबल बढ्नेछ । उहाँको अनुभव यसरि शुरु हुन्छ,
दोस्रो डोज खोप लगाएकाहरुलाई पनि कोभिड संक्रमण हुन सक्छ ।
२० अगस्तमा अन्तराष्ट्रिय उडान गर्नु पर्ने भएकोले एकदिन अघि पीसीआर टेस्ट गराएँ । दुवै डोज खोप लगाएको र कोरोना सम्बन्धि सावधानी अपनाउने मामिलामा म निक्कै सजग पनि रहेकोले नेगेटिभ नतिजा आउने कुरामा म ढुक्क थिएँ । मैले दोश्रो डोज खोप लगाएको पनि पांच महिना पुरा भै सकेको थियो । यस बिचमा पटकपटक एन्टीबडी परिक्षण पनि गराएको थिएँ । शरिरमा प्रसस्त एन्टीबडी बनेर कोभिड विरुद्ध प्रतिरक्षात्मक क्षमता रहेको देखिएको थियो ।
तर सोचे जस्तो संधै कहाँ हुन्छ र ? पिसिआर रिपोर्ट पोजिटिभ देखियो ।
त्यस दिनको पिसीआर रिपोर्टमा सिटि भ्यालु ३५.२६ देखिएको र कहिलेकाहीं गलत नतिजा पनि आउन सक्छ भन्ने सुनेकोले भोलिपल्ट बिहान फेरी स्वाव टेस्ट गराएँ ।
दोश्रो रिपोर्ट पनि पोजिटिभ नै देखियो र भोलिपल्टको सिटि भ्यालु २३ मा झरेकोले कोरोनाको संक्रमण सुरु हुने क्रममा रहेको थाहा भयो । सीटि भ्यालु कम हुनु भनेको कोरोनाको तिब्रता भन्दा पनि त्यसले अरुलाई सार्न सक्ने संक्रामकता बढी हो भनेर बुझ्नु पर्ने रहेछ ।
२० अगस्तको उडानलाई रद्द गरेर आफुलाई होम आइसोलेशनमा राखें
तेश्रो दिन बिहान उठ्दा जिउ दुख्ने र सुख्खा खोकी लाग्ने क्रम सुरु भयो । खोकी लाग्दा छाती दुखे जस्तो भएकोले छातीरोग बिशेसज्ञसंग परामर्श गरें । उहाँले छाती परिक्षण गर्ने सल्लाह दिनु भयो । एक्सरे गर्दा केहि नदेखिए पनि सिटि स्क्यानमा भने देब्रे पट्टिको फोक्सोमा सानो दाग देखिएकोले कोभिडका कारण निमोनिया सुरु हुन लागेको आशंका गरि त्यसै अनुरुप औषधिहरु चलाइयो । मेरो सिटि स्क्यानको रिपोर्टमा बाया फोक्सोमा कोभिड १९ निमोनियाको जस्तो प्याचहरु देखिएको उल्लेख गरिएको थियो ।
चौथो दिनदेखि जिब्रोले स्वाद थाहा पाउन छाड्यो ।
दशौँ दिनमा पुन: पिसीआर टेस्ट गर्दा नतिजा नेगेटिभ आयो । तर पनि खोकी लाग्ने र जिउ दुख्ने क्रम रोकिएको थिएन । मलाई देखिएका कोभिडका लक्षणहरु माइल्ड प्रकृतिका हुन् । यसो हुनुमा दुवै डोज खोप लगाउनु मुख्य कारण हो भन्ने लागेको छ । म अहिले पूर्णरुपमा स्वस्थ्य भएको छु । यद्यपी रक्त परिक्षणमा केहि सूचकहरु (डी-डाइमर,फेरिटिन र एलडीएच लेभेल) अझै केहि उच्च छन् ।
कोभिड १९ लागेर स्वस्थ्य भएको अनुभवका आधारमा मेरा केहि सुझावहरु यस प्रकारका छन् ।
– सम्भव भएसम्म खोप लगाउनु होला । खोप लगाउनु हुँदैन भन्नेहरुको जमात पनि ठुलो छ ।
– कोभिडमा खोकी लागेर छाती दुख्यो भने तुरुन्तै चिकित्सकसंग परामर्श गर्नु होला । यस्तो अवस्थामा निमोनियाको ठुलो सम्भावना हुँदो रहेछ । निमोनियाको लेभल बमोजिम फोक्सोको क्षति निर्धारण हुने भएकोले सुरु अवस्थामा नै उपचार गरि हाल्नु पर्दछ ।
– बिरामी हुँदा धेरै थरिका सल्लाह/सुझाव आउने रहेछन । सम्बन्धित बिशेसज्ञको सल्लाह मात्रै ग्रहण गर्नु होला ।
– बिरामीको शारीरिक अवस्था, पुराना रोगको हिस्ट्री आदिका आधारमा उपचार पद्धति अपनाउनु पर्ने भएकोले मलाई यसो गर्दा ठिक भएको थियो तपाईंले पनि यहि पद्दति अवलम्बन गर्नुहोस् भनेर सुझाव-सल्लाह नदिनु नै जाति हुन्छ ।
– आत्मबल उच्च राख्नुहोला । सावधानी अपनाउनु होला । कोरनासंगको लडाई जित्न सकिन्छ ।
कोरोना संक्रमण हुँदा मेरो स्वास्थ्यबारे चासो राखेर मलाई हौसला र उत्प्रेरणा दिनु हुने सम्पूर्ण सर्हिदयी मित्रहरुलाई हार्दिक आभार व्यक्त गर्दछु।
यो सामग्री रेकर्ड गर्दासम्म संसारभर २२ करोड ७९ लाख भन्द बढी संक्रमित भइसकेका छन् भने ४६ लाख ६७ हजार भन्दा बढी कोकोरोनाका कारण ज्यान गइसकेको छ ।