लन्डन । आगामी आइतबार लन्डनस्थित केम्प्टनपार्क रेस कोर्समा १२ औं नेपाली मेलाको आयोजना हुने भएको छ । तमुधिं यूकेको आयोजना तथा नेपाली दूतावास लन्डनको सहकार्यमा हुन लागेको नेपाली मेलामा गैर आवासीय नेपाली संघ यूकेको पनि सहभागीता रहेको छ । सन् २००९ देखि हरेक वर्ष आयोजना हुँदै आएको नेपाली मेला गतवर्ष भने कोरोना महामारीका कारण स्थगित भएको थियो ।
प्रवासमा नेपाली धर्म, संस्कृति, परम्परा र रहनसहनलाई प्रतिनिधित्व गर्दै ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मूल नारासहित उक्त मेलाको आयोजना गरिंदै आएको हो । कार्यक्रममा स्वदेशी तथा विदेशीको पनि बाक्लो उपस्थियी रहने गर्दछ ।
तर, यसपटक भने विगतमा जस्तो अन्य देशका कूटनीतिज्ञहरुको सहभागीता नहुने आयोजकले जानकारी दिए । मेलाको उद्घाटन बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले गर्नेछन् ।
बिहान १० देखि सांझ ८ बजेसम्म हुने मेलामा सहभागी भएर नेपाली खानपान र नेपाली मौलिकतामा रमाउन सम्पूर्ण बेलायातवासी नेपालीहरुलाई उपस्थित हुन आयोजक संस्था तमुधिं यूके अध्यक्ष हित काजी गुरुङले अपिल गरेका छन् ।
‘सम्पूर्ण बेलायतवासी नेपालीहरुकै साझा कार्यक्रम नेपाली मेला नाफा कमाउने उद्देश्यले नभई ‘विदेशमा पनि नेपाली कला संस्कृति, रितिरिवाज, भेषभूषा, धर्म संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो ‘ गुरुंगले भने ।

फाइल फोटो
मेलामा विभिन्न प्रकारका नेपाली खाना, च्यारिटी, हस्तकला लगायतका २७ व्यापारिक स्टल रहनेछन् । विशेषगरी नेपाली मौलिक भेषभुषा देखि लिएर ग्रामिण परिवेशमा प्रयोग गरिने हलो, जुवा, ढिकी, जाँतो लगायतका विभिन्न सामाग्रीहरुको पनि प्रदर्शन गरिनेछ ।

फाइल फोटो
आर्थिक दृष्टिकोणले पनि निकै खर्चिलो मानिने नेपाली मेलाको अनुमानित खर्च तीस हजार पाउण्ड अर्थात करिब ५० लाख रुपैयाँ जति हुने मेला संयोजक वरिष्ठ उपाध्यक्ष हरि गुरुङले जानकारी दिए । आयोजक तमुधिं यूकेका तर्फबाट मेलाबारे जानकारी दिन आइतबार आफ्नै भवन मिचेटमा आयोजित पत्रकार सम्मेलनमा मेला संयोजक गुरुङले नेपाली मेलाको तयारीबारे विस्तृत जानकारी दिएका हुन् । मेलामा बेलायतस्थित विभिन्न १९ संघसंस्थाले नेपाली कला संस्कृति, परम्परा, रहनसहन, भेषभुषा झल्कने विभिन्न झांकी, नृत्य प्रस्तुत गर्नेछन्
उक्त मेलामा झांकी र नृत्य दुवैमा प्रथम हुने समूहलाई एकहजार एकसय पाउण्डसहित ‘एम्बासडर कप’ प्रदान गरिनेछ । प्रथम हुनेलाई अतिरिक्त ३ सय पाउण्डको ‘एनआरएनए यूके कप’ समेत दिइनेछ । दोश्रो हुनेले ७ सय पाउण्ड एवं तेश्रो हुनेलाई ५ सय पाउण्ड नगद प्रदान गरिनेछ ।
त्यसैगरि झांकीमा मात्र प्रथम हुनेलाई ५ सय पाउण्ड र दोश्रो हुनेलाई ३०० पाउण्ड तथा नृत्यमा प्रथम हुनेलाई ५०० पाउण्ड र दोश्रो विजेतालाई ३०० पाउण्ड प्रदान गरिनेछ । दर्शकले काटेको टिकटबाटै राफल ड्र पनि सञ्चालन गरिनेछ ।
राफल ड्र प्रथम विजेतालाई एक तोला सुन, द्धितिय विजेतालाई ट्याबलेट र तृतीयलाई एकसय पाउण्ड नगद दिइने तमुधिं यूकेले जनाएको छ ।
तमुधिं यूकेद्वारा हरेक वर्ष गोर्खा कप र नेपाली मेला जस्ता दुईवटा इभेन्टको आयोजना हुने गर्दछ, जुन नेपालीहरुको जमघट हुने सबैभन्दा ठूला इभेन्ट हुन् । विगतमा ८ देखि १० हजारसम्मको उपस्थिति हुने गरेको भएपनि अहिलेको परिस्थितिमा एक तिहाइको उपस्थिति भएपनि खर्च धान्न सकिने आयोजकले ठहर छ ।
आइतबार समपन्न पत्रकार सम्मेलनको सञ्चालन महासचिव परशु गुरुङले गरेकोका थिए भने आमा समूहकी महासचिव यशोदा गुरुङले आफ्नो तयारीबारे जानकारी दिइन् । सो अवसरमा तमुधिं यूकेका मिडिया सेक्रेटरी एस के गुरुङले उपस्थित मिडियाकर्मीहरुको परिचय गराएका थिए भने अध्यक्ष हितकाजी गुरुङले खादा र मेला पास उपलब्ध गराइ सम्मान गरेका थिए ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्यालसहित शाखाका अधिकांश पदाधिकारी, अन्य पत्रकारहरु, सल्लाहकारहरु, इकाइ अध्यक्ष लगायतको सहभागिता थियो ।