लन्डन । विगत १३ दिनदेखि आमरण अनसनमा बसेका भूपू गोर्खाहरुले आजबाट अनसन तोडेका छन् । बेलायत सरकारका भेट्रान मिनिस्टर लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी लगायत अनसनस्थल पुगेर सत्याग्रहीहरुलाई जुस पिलाएर अनसन तोडाएका हुन् ।
समान अधिकारको मागसहित भूतपूर्व गोर्खाहरुले जुलाई २१ देखि १७ दिने रिले अनसनपछि हाल १३ दिनदेखि आमरण अनसन बस्दै आएका थिए । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियन्ता पुष्प राना घले आमरण अनसनमा बस्दै आएका थिए ।
सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले सत्याग्रहीले राखेको माग सम्बोधन भएपछि अनसन तोडिएको बताए । जुन किसिमको माग राखेर भोक हड्ताल शुरु गरिएको थियो सोहि अनुरुप दुवै देशका सरकारबीच सहमति भएकाले अनसन तोडिएको हो । राजदूत रेग्मी र दूतावासकी उपनियोग प्रमुख रोशन खनालको योगदान सह्रानीय रहेको राईले बताए ।
‘गोर्खाका मुद्धामा बेलायत सरकार वार्ताको टेबलमा बस्न तयार भएको छ । प्राविधिक संयन्त्रको सिफारिशकै जगमा बेलायत, नेपाल र गोर्खाहरुसहितको वार्ताको सहमति बनेको छ’, उनले भने । 
सहमतिअनुसार आगामी सेप्टेम्बर ८ मा बेलायत सरकारका अधिकारी र नेपाली अधिकारी तथा गोर्खाहरुबीच प्रारम्भिक छलफल हुने र डिसेम्बर महिनाबाट वार्ता शुरु हुने प्रमुख संयोजक राईले जानकारी दिए ।
उनीहरुको यो आन्दोलनमा बेलायतस्थित नेपाली संघसंस्था र सिंगो नेपाली समुदायले ऐक्यवद्धता प्रकट गरेको थियो । साथै, बेलायतका भेट्रानहरु, विभिन्न राजनीतिक दल तथा नेता र आम समुदायले समेत उनीहरुलाई व्यापक रुपमा समर्थन जनाएका थिए ।
अनसनरत भूपू गोर्खाहरुको विषयलाई लिएर आजमात्र सर्वोच्च अदालतबाट नेपाल सरकारका नाममा तत्काल बेलायत सरकारसँग वार्ता गर्न र आमरण अनसनमा रहेका तीन जना भुपू गोर्खाहरुको जीवन रक्षाका लागि आवश्यक पहल गर्न अन्तरिम आदेश जारी गरेको थियो ।







