लेगोस , नाइजेरिया । गैरआवासीय नेपाली संघनाइजेरियाको आठौं साधारणसभाबाट नवनिर्वाचित कार्यसमितिको आइतबार सम्पन्न प्रथम बैठकले नेपाल र नाइजेरियामा परोपकारी कार्य गर्न एनआरएनए नाइजेरिया कल्याणकारी कोषको स्थापना गर्नुका साथै आर्थिक संकलनको समेत थालनी गरेको छ ।
बैठकले यो कार्यकालमा ‘एक एनसीसी एक परियोजना’ अन्तर्गत सातौ नेपाल प्रोजेक्ट समेत सम्पन्न गर्न एक समिती गठन गरेको छ । यस अघि संघले कैलाली, खोटाङ, मकवानपुर, सुनसरी, रसुवा र चितवनका स्कुलहरुमा यो परियोजना अन्तर्गत स्कुलका छात्रावास, पुस्ताकालय, प्रयोगशाला र कक्षा कोठाका लागि भवनहरु निर्माण गरिसकेको छ ।
संघले तत्काल मेलम्चीको बाढीपीडितहरुका लागि मानवीय राहत सहयोग पठाउने समेत निर्णय गरेको छ । त्यस्तै लेगोसस्थित असहाय बालबालिका केन्द्रलाई सहयोग गर्ने र कोभिडले स्थगन भएको नियमित रक्तदान कार्यक्रमलाई पुन: सुचारु गर्ने निर्णय गरेको छ ।
संघका नवनिर्वाचित अध्यक्ष बिरेन्द्र गुप्ताको अध्यक्षतामा सम्पन्न बैठकमा सस्थापक अध्यक्ष एवम् संरक्षक हिक्मत थापा, सल्लाहकार हिमा खडका , आइसीसी सदस्य बिश्वास पौडेल , उपाध्यक्ष अभिषेक मान सिंह र महासचिव सोमेश अर्यालले आ आफ्ना धारणाहरु राखेका थिए ।