लण्डन । विगत तीन दशकदेखि बेलायतमा अन्तरराष्ट्रिय कानून र मानव अधिकार विषयमा प्राध्यापन गर्दै आएका प्रा डा सूर्य प्रसाद सुवेदी (क्यूसी) ले आफ्नो निजी पुस्तकालय ‘नेपाल ल क्याम्पस’ लाई प्रदान गर्ने भएका छन् ।‘नेपाल ल क्याम्पस’ का पूर्व विद्यार्थी समेत रहेका डा सुवेदीले १० लाख रुपिया आर्थिक सहयोगसहित आफ्नो निजी पुस्तकालयमा रहेका सबै पुस्तक हस्तान्तरण गर्ने भएका हुन् ।
आफूले प्रकाशन गरेका र विद्यार्थी जीवनदेखि संग्रह गरेका अन्तरराष्ट्रिय कानून र मानव अधिकारसम्बन्धि बहुमूल्य पुस्तकहरु र दश लाख रुपैंया नगद त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल ल क्याम्पसलाई चन्दास्वरुप प्रदान गर्ने डा सुवेदीले जनाएका छन् ।
बेलायतको हल विश्वविद्यालयवाट विशष्ट श्रेणीमा प्रथम भइ स्नातकोत्तर र अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि र महाविद्यावारिधि जस्ता प्राज्ञिक क्षेत्रका सर्वोच्च उपाधि हासिल गर्दा आफूले अध्ययन गरेका एवम् प्राध्यापनका लागि किन्दै आएका ग्रन्थहरु उनले आफूले कानूनमा स्नातक गरेको संस्था नेपाल ल क्याम्पसलाई दिने निधो गरेका हुन् । यी सबै पुस्तक आफ्नै खर्चमा नेपाल पठाउन लागेको समेत उनले बताए ।
लिड्स, लण्डन र अक्सफोर्ड विश्वविद्यालय लगायत संसारका सातवटा प्रतिष्ठत विश्वविद्यालयमा प्राध्यापन गरेका प्रा सुवेदीका अन्तरराष्ट्रिय स्तरका यस्ता ग्रन्थहरुले नेपालका वर्तमान र भावि पुस्ताका छात्रछात्राहरु लाभान्वित हुने उनले आशा गरेका छन्।उनले दिएको दश लाख रुपैंया नगद चन्दालाई नेपाल ल क्याम्पसको मुद्दती खातामा जम्मा गरि त्यसको बार्षिक आयबाट प्रत्येक वर्ष नयाँ–नयाँ ग्रन्थहरु नेपाल ल क्याम्पसको पुस्तकालयमा थप्दै जाने व्यवस्था पनि गरिएको छ ।
प्रा. सुवेदीको उचाई बेलायती समुदायमा
अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा. सुवेदी (क्यूसी) को उचाईं नेपालीमाझमात्र होइन्, बेलायती समुदायमा पनि उच्च श्रेणीमा रहेको छ । उनी पछिल्लो पटक बेलायतका मूर्धन्य ब्यारिस्टरहरुको पंक्तिमा आफ्नो सफलताका कथासंगै झुल्किएका छन् ।
बेलायतको बार काउन्सिल (बार काउन्सिल अफ इंग्ल्याण्ड) को मासिक मुखपत्रले बेलायतको न्याय र कानूनी क्षेत्रका मूर्धन्य व्यक्तित्वहरुको योगदानवारे प्रकाश पार्दै यो महिना सुवेदीलाई पनि प्राथमिकता दिएको छ ।
बेलायतको न्याय र कानूनको क्षेत्रमा प्रखर व्यक्तित्वका रूपमा स्थापित बेलायतका भूतपूर्व महान्यायाधिवक्ता डोमिनिक ग्रीभ (क्यूसी), भूतपूर्व न्यायाधिश व्यारोनेश हेदर हाल्लेट र प्रा डा सूर्य प्रसाद सुवेदी (क्यूसी) लाई प्रकाशनमा छनोट गरिएको छ । नेपालवाट एक विद्यार्थीको रूपमा बेलायत आएका प्रा सुवेदीले कसरी अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्दै कुइन्स् काउन्सेल जस्तो कानून व्यवसायको क्षेत्रको उच्च उपाधि समेत हासिल गर्न सफल भए भन्ने विवेचना गरिएको छ ।
नेपाल सरकारले स्थापना गरेको नीति अनुसन्धान प्रतिष्ठानले उनलाई “राष्ट्रिय हित, परराष्ट्र नीति तथा रणनीतिक मामिला” विधाको “विशिष्ट विज्ञ” को रूपमा तीन वर्षका लागि नियुक्ति गरेको छ । नेपाल सरकारलाई राष्ट्रको नीति निर्माणमा प्रमाण (अनुसन्धान) मा आधारित सल्लाह सुझाव उपलब्ध गराउन उक्त प्रतिष्ठान तीन वर्ष अघि स्थापना भएको थियो ।
गत वर्ष पनि नेपाल सरकारले प्रा सुवेदीलाई नेपाल-भारत सीमा सम्बन्धि विज्ञ समूहको सदस्यमा नियुक्त गरेको थियो । त्यसैगरि, चीनको आर्थिक तथा व्यापार मध्यस्थता आयोगले उनलाई पाँच वर्षका लागि मध्यस्तकर्ताको रूपमा नियुक्ति गरेको छ ।






