लन्डन– यसपटक कोरोना महामारीबीच पनि सावधानीपूर्वक गोर्खा भिसी कप सम्पन्न भएको छ । गत साता लन्डनस्थित फेल्थाम कम्युनिटी कलेज मैदानमा फुटबल प्रतियोगिता भएको हो । गत वर्ष भने कोरोना महामारीका कारण भिसी कप स्थगित गरिएको थियो ।
गोर्खा नेप्लिज कम्युनिटी हन्स्लोको आयोजनामा सम्पन्न ११ औं भिसी कप लन्डन बरो हन्स्लोका मेयर बिष्णुबहादुर गुरुङ प्रमुख अतिथी थिए । कार्यक्रममा भिसी गजे घलेका सुपुत्र डम्मर घलेको पनि विशेष उपस्थिति थियो । भिक्टोरिया क्रसबाट विभूषित १३ जना गोर्खालीको सम्झना र सम्मानस्वरुप भिसी कपसहित भिसी मेमोरियल गर्ने संस्था सम्भवतः गोर्खा नेपलिज कम्युनिटी लन्डन बरो अफ हन्स्लो मात्र एक हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर गुरुङले भने ’म स्वयंले स्थापित गरेको भिसी कपको ११ औं श्रृंखलामा प्रमुख अतिथि हुन पाउँदा उत्साहित र अत्यन्त खुशी छु । कार्यक्रमलाई निरन्तरता दिंदै आएकोमा गोर्खा नेप्लिज कम्युनिटीलाई धन्यबाद पनि दिन चाहन्छु ।’
सन् २००९ देखि १३ जना भिसीहरुको सम्मान र सम्झनास्वरूप भिसी कप आयोजना हुँदै आएको हो, जसको स्थापना हाल लन्डन बरो अफ हन्स्लोका मेयर बिष्णुबहादुर गुरुङले गरेका थिए । भिसी कपलाई निरन्तरता दिन सफल बनाउन आफूले सक्दो सहयोग दिने गुरुङले प्रतिवद्धता गरे । भिसी कप सफल बनाउन कम्युनिटीका विभिन्न व्यक्तिको मिहिनेत, परिश्रम र लगनशीलताका कारण नै सम्भव भएको उनले प्रष्ट पारे ।
कोभिड १९ का कारण यसपटकको भिसी कपमा १० फुटबल टोलीहरुको प्रतिष्पर्धा थियो । बेलायतको सबैभन्दा पुरानो तथा ठूलो आर्मड फोर्सेस च्यारिटी संस्था साफा (एसएसएएफए) ले समेत भिसी कपमा ऐक्यवद्धता जनाउंदै आएको छ । यसपटकको प्रतियोगितामा साफा नर्थवेष्टले ट्रफी स्पोन्सर गरेको थियो ।
यसपटक भेट्रान तर्फको उपविजेता पोखरा युनाइटेड एफसी भयो भने ब्रिगेड ब्वाइज क्लब विजयी भएको छ । भेट्रानतर्फ सबैभन्दा धेरै गोल गरेर टप स्कोरको उपाधि धरान ११ का उत्तम राईले पाए भने म्यान अफ दि म्याच ब्रिगेड बोइज क्लबका सुरेश गुरुङले पाएका छन् ।
सबैभन्दा राम्रो म्यानेजरलाई एउटा विशेष पुरस्कार राखिएको थियो जुन पुरस्कार भेट्रानका म्यानेजर पोखरा युनाइटेडका बासु गुरुङले हात पारे । संस्थाका सल्लाहकार मन थापा, सल्लाहकार मन गुरुङ, कोषाध्यक्ष पिताम्बर राना, सचिव धन बहादुर सार्की, प्रोपर्टी सचिव सुनिल गुरुङ, खेलकुद सहसचिव साहस गुरुङ र सहकोषाध्यक्ष राधा गुरुङले महामारीका समयमा फुटबल खेल खेलाउन विशेष भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा छिमेकी संस्था हेज एण्ड हार्लिङ्टन कम्युनिटीका प्रतिनिधि पूर्ण नेपाली, नर्थ वेष्ट लण्डन साफाका चेयरमेन ले. कर्णेललगायतको उपस्थिति थियो । संस्थाका अध्यक्ष डोल मल्लको अध्यक्षतामा गरिएको कार्यक्रम संयोजकको भूमिका संस्थाका खेलकुद सचिव लाल रोकाले गरेका थिए ।
संस्थाका महासचिव बम थापा (सूर्यवंशी) ले कार्यक्रम सञ्चालन गरेका थिए भने संस्थाका वरिष्ठ उपाधक्ष्य शिवकुमार पालुङ्गवाले व्यवस्थापन सम्बन्धि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका लन्डनको हन्स्लो बरोका ५६ औं मेयर बिष्णुबहादुर गुरुङ लेडी मेयर श्रीमती गुरुङलाई समेत संस्थाका तर्फबाट बधाई तथा शुभकामना दिइएको थियो ।
मेयर गुरुङ लण्डनमा मेयर हुने नेपाली मुलका पहिलो पूर्व गोर्खा हुन् । उनी गोर्खा नेप्लिज कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष समेत हुन् । More Pictures: