लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको आइतबार लन्डनमा सम्पन्न निर्वाचनमा ध्रुवराज अर्याल पहिलो निर्वाचित अध्यक्षको रुपमा विजयी भएका छन् । यसअघिका चार वटै कार्यकालका अध्यक्ष सहमतिमै चयन भएका थिए ।
निर्वाचनमा अर्यालले २६ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी अर्का उम्मेदवार श्याम लुईंटेलले १६ मत पाएका थिए । दश मतको अन्तरले अर्याल अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदका दुवै उम्मेदवार यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । 
त्यसैगरी, शाखाको वरिष्ठ उपाध्यक्षमा ३२ मतसहित दिनेशकुमार परियार अत्यधिक मतले विजयी भए । उनका प्रतिस्पर्धी सञ्जयभक्त कंडेलले १० मत पाएका थिए । महासचिव पदमा २७ मत ल्याएर नरेन्द्र बस्नेत विजयी भएका छन् । उनका प्रतिस्पर्धी जगन कार्कीले १५ मत प्राप्त गरे । १२ मतको अन्तरमा बस्नेत विजयी भएका हुन् ।
शाखाको १५ सदस्यीय कार्यसमितिका अन्य सबै पद निर्विरोध भएपनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि निर्वाचन भएको हो । जम्मा ४३ मतदातामध्ये ३८ जनाले पोस्टल मतदान गरेका थिए भने बाँकी ५ जनाले आइतबार प्रत्यक्ष मतदान गरेका हुन् । ति मध्य १ भोट बदर भएको थियो ।
यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका अर्यालले त्यसअघि शाखाको उपाध्यक्ष र कार्यसमिति सदस्यका रुपमा काम गरिसकेका छन् । नवनिर्वाचित अध्यक्ष अर्याल पछिल्लो १२ वर्षदेखि बेलायतमा क्रियाशिल पत्रकार हुन् ।
लण्डनबाट प्रकाशन हुने नेपाली लिंकका सम्पादक उनी अन्नपूर्ण राष्ट्रिय दैनिकका बेलायत संवाददाता पनि हुन् । यसअघि उनले बेलायतबाटै सञ्चालित नेपाली टिभी र युरोपको नेपालीपत्रमा लामो समय काम गरेका थिए ।
डेढ दशकअघि नेपालमा एबिसी टेलिभिजिनबाट पत्रकारिता शुरु गरेका उनी त्यसयता कयौं राष्ट्रिय मिडियाहरु समेतमा आबद्ध रहेर पत्रकारितामा निरन्तर सक्रिय छन् ।
पत्रकार महासंघ बेलायतको नयाँ कार्यसमितिको उपाध्यक्षमा शिव भण्डारी, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, सचिवमा मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्षमा एसके गुरुङ, सहकोषाध्यक्षमा सुरेन्द्र इंग्नाम तथा सदस्यहरुमा गोमा राना, नरेन्द्र नेम्वाङ र जयराम तामाङ निर्विरोध निर्वाचित भइसकेका छन् । कार्यसमितिका बाँकी तीन सदस्य पछि मनोनित गरिनेछन् । 
शाखाको नयाँ कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ । अधिवेशन केन्द्रिय प्रतिनिधि वरिष्ठ पत्रकार भगिरथ योगीले निर्वाचित समितिलाई शपथ खुवाएका थिए । शाखाको पाँचौं समितिको निर्वाचन रमेश सराङकोटी नेतृत्वको निर्वाचन समितिले गराएको थियो ।
समितिमा शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, सल्लाहकार संगीता मरहट्ठा र पूर्व सल्लाहकार केशव भण्डारी सदस्य तथा सोलिसिटर दीपक भट्टराई कानूनी सल्लाहकार थिए । शाखालाई यसअघि नवीन पोखरेल र चिरन शर्माले एकएक तथा नरेश खपांगीमगरले दुई कार्यकाल नेतृत्व गरेका थिए ।
फोटो शिव भण्डारी






