लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको पाँचौँ कार्यसमितिका लागि यहि १३ जुनमा हुने निर्वाचनका लागि ८१ प्रतिशतले पोस्टल भोट गरिसकेका छन् भने पाँच जनाले प्रत्यक्ष मतदान गर्दैछन् । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदको लागि प्रत्यक पदमा दुई दुई जना गरि ६ जना उम्मेद्वारहरु निर्वाचनको मैदानमा प्रतिष्पर्धा गर्दैछन् ।
उक्त दिन प्रत्यक्ष रुपमा मतदानमा भाग लिन पाँच जनामात्र सहभागी हुनेछन् । प्रमुख निर्वाचन आयुक्त रमेशसिंह साराङकोटीद्वारा बुधबार सार्वजनिक नामावली अनुसार प्रत्यक्ष निर्वाचनमा मतदान गर्नेहरुमा श्यामकुमार लुइंटेल, बिमला सेने, एभरेष्ट गौतम, सन्जयभक्त कंडेल र विपिन निरौला छन् ।
कोरोना महामारीका कारण वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै पोस्टल भोटलाई प्राथमिकता दिने निर्वाचन समितिको निर्णय अनुसार झन्डै ९० प्रतिशतले पोस्टल भोटमार्फत नै मतदान गर्ने भएका हुन् । शाखाका ४३ सदस्यमध्ये ३८ जनाले पोस्टल भोट मगाएका थिए । जसमध्ये ३५ जनाको मतपत्र बुधबारसम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको निर्वाचन आयुक्त चिरन शर्माले जनाएका छन् ।
प्राय सबै पदहरुमा निर्विरोध भएपनि अध्यक्ष पदमा ध्रुवराज अर्याल र श्याम लुइंटेल, वरिष्ठ उपाध्यक्षमा दिनेश कुमार परियार र संजयभक्त कंडेलबीच प्रतिस्पर्धा हुँदै छ भने रेन्द्रकुमार बस्नेत (नरेन्द्र बस्नेत) र जगन्नाथ कार्की महासचिवका लागि चुनावी मैदानमा उत्रिएका छन् ।
आउँदो जुन १३ मा हुने शाखाको अधिवेशनले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, २ उपाध्यक्ष (१ महिला), १ महासचिव, २ सचिव, १ कोषाध्यक्ष, १ सह-कोषाध्यक्ष र ६ सदस्य गरी १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।
नेपाल पत्रकार महासंघ युके शाखाको पाँचौं अधिवेसनको प्रत्यक्ष मतदानमा कोभिड १९ बाट बच्न अपनाइने उपायहरु, मतगणनासम्बन्धी नियमावली तथा प्रत्यक्ष निर्वाचनमा मतदान गर्ने मतदाताको नामावली यस प्रकार रहेको छ ।
१. अन्तिम मतदाता सूचीमा रहेका र हुलाकबाट मतपत्र नमगाएका सदस्यहरुले मात्र प्रत्यक्ष निर्वाचनमा भाग लिन पाउनेछन् । प्रत्यक्ष मतदान गोल्डेन सीप नेपाली चुल्हो साउथ ह्यारो लण्डन 500 Northolt Rd, South Harrow, Harrow HA2 8HA मा दिउँसो ३ देखि ५ बजेसम्म हुनेछ ।
२. सबै मतदाताहरुले मतदान गरे पश्चात तुरुन्तै मतगणना आरम्भ गरिनेछ ।
३. मतदान स्थलमा एकपटकमा बढीमा दुईजना मतदातालाई मात्र प्रवेश दिइनेछ । मत दिएपछि हलबाट बाहिरनिस्कनुपर्ने छ ।
४. मतदान हलभित्र फेस मास्क वा फेसशिल्ड अनिवार्य रुपमा लगाएको हुनुपर्नेछ ।
५. मतदान स्थलमा प्रवेश गर्ने र मतदान गरेर निस्कने स्थानहरुमा ह्याण्ड स्यानिटाइजरहरु राखिने छन् ।
६. मतदान गर्दा हरेक मतदातालाई एउटा कलम दिइनेछ र सो कलम अर्को मतदातालाई प्रयोग गर्न दिइने छैन ।
७. मतपत्रबाट हुनसक्ने संक्रमणबाट बच्न मतदातालाई मतदान गर्दा लेटेक्स पञ्जाको व्यवस्था गरिने छ । मतदान स्थलमा सामाजिक दुरी कायम गरिनेछ । मतदान स्थलमा एकपटकमा बढीमा ६ जनामात्र भेला हुने छन् ।
८. सार्बजनिक सवारीसाधन प्रयोग गर्दा वा सेयर गरेर आउँदा भाइरस सर्न सक्ने खतरालाई ध्यानमा दिँदै मतदाताहरुलाई मतदानमा आउँदा निजी सवारीसाधन प्रयोग गर्न सल्लाह दिइन्छ ।
९. यदि तपाईलाई सञ्चो छैन र कोभिड संक्रमणको आशंका छ भने कृपया मतदान गर्न नआउनुहोला ।
१०. मतदान हुने स्थानमा बेलायत सरकारको मापदण्डअनुसारको क्यूआर कोड हुनेछ र सो स्क्यान गरी कन्ट्याक्ट ट्र्यासिङमा सहभागी हुन सक्नुहुनेछ ।
११. निर्वाचन प्रयोजनका लागि निर्वाचन प्रमुख आयुक्तको सक्कल दस्तखत भएको, पर्याप्त सुरक्षासहितको मतपत्र जारी गरिनेछ ।
१२. मतपत्रमा उम्मेदवारको नाम र चिनो लगाउने बाकस रहनेछ । उक्त बाकसभित्र अर्को उम्मेदवारको बाकसमा नछुने गरी टिक लगाएको हुनुपर्नेछ ।
१३. मतपत्रभित्र मतपत्रबाहेक कुनै पनि वस्तु राखिएको पाइएमा सो मतपत्र खारेज हुनेछ ।
१४. प्रत्यक्ष मतदानमा मतपेटिका खुला ठाउँमा राखिने छ । तर मतदान गोप्य रुपमा गर्नु पर्ने छ र मतपेटिकामा खसाउनु पर्ने छ।
१५. मतदानका लागि तोकिएको समय वा सबै मतदाताले मतदान सकिएपछि मतपेटिका सिल गरिनेछ र उम्मेदवार वा निजका प्रतिनिधिको रोहबरमा सिलबन्दी गराइने छ ।
१६. उम्मेदवार वा निजको वारेसको रोहवरमा सिलबन्दी मतपेटीका खोली मतगणना आरम्भ गरिनेछ ।
१७. मतगणना गर्दा सकेसम्म सबै उम्मेदवारहरु वा उनको प्रतिनिधिको रोहबरमा गरिनेछ । मतगणना गर्दा सामाजिक दुरी कायम गरिनेछ तर स्थानाभावका कारण सामाजिक दुरी कायम गर्न नसकिने अवस्थामा अध्यक्षका उम्मेदवार मात्र राखेर मतगणना गरिनेछ ।
प्रत्यक्ष निर्वाचनमा मतदान गर्ने मतदाताको नामावली
१. श्यामकुमार लुइँटेल
२. बिमला सेने
३. एभरेष्ट गौतम
४. सन्जयभक्त कँडेल
५. विपिन निरौला
भवदीय
रमेशसिंह साराङकोटी
प्रमुख निर्वाचन आयुक्त