काठमाडौँ । गएको २४ घण्टामा नेपालमा सात हजार २१९ जना कोरोनामुक्त भएका छन् । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) बाट निको हुने दर ८०.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस अवधिमा देशभर पाँच हजार ३१६ जना कोरोना भाइरस संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताए ।
पिसिआर विधिबाट चार हजार ५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १३ हजार ८०५ जनाको नमूना पिसिआर र तीन हजार ७३ जनाको एन्टिजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । हाल संक्रमण दर ३२.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यस अवधिमा कोरोनाबाट १०१ जनाको मृत्यु भएको पौडेलले जानकारी दिए । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ९९३ पुगेको छ ।
काठमाडौँ उपत्यकामा आजमात्र एक हजार ४५६ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।