एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत आज पहिलो चरणको सहयोग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल पुगेको छ । अक्सिजनसहितको ७० लिटरका दश थान सिलिन्डर जुम्लाका निर्देशक डा. राजिव शाहलाई नेपाली सेना श्री नम्बर २४ अड्डा बाहिनीका बाहिनी पति सहायक रथी यमबहादुर सापकोटाले हस्तान्तरण गरेका हुन् ।
कोरना महामारीका कारणले जुम्ला अस्पतालमा समेत अक्सिजन अभाव भए पछि अफ्रिकाका एनआरएनहरुले यो सहयोग पठाएका हुन । रुपारेलिया फाउन्डेसन युगान्डा, फ्रान्सबाट पत्रकार अनुराधा पौडेल , एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापा , अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा र युगान्डाका पुर्व अध्यक्ष रमेश कंडेल लगायतले सहयोग उपलब्ध गराएका हुन्।
सहयोगको संयोजन अफ्रिकाका एनआरएनएका सबै राष्ट्रिय समितिका लागि एनआरएनए एनसीसी युगान्डा र स्थानीय व्यवस्थापनमा सहयोग नेपाली सेना २४ नम्बर अड्डा बाहिनीले गरेको थियो । प्रथम चरणको उक्त सामग्री हस्तान्तरण गर्दै बाहिनी पति यामबहादुर सापकोटाले १० थान थप सिलिन्डर आउने क्रममा रहेको बताए ।
कर्णालीको दुर्गम क्षेत्रका नागरिकलाई सहयोग गरेकोमा अफ्रिकाका सबै नेपाली, एनआरएनए र रुपारेलिया फाउन्डेसनलाई सापकोटाले आभार व्यक्त गरेका थिए । अस्पतालका निर्देशक डा . राजीव शाहले यी सिलिन्डरले कर्णालीका बिरामीलाई निकै राहत पुग्ने बताए । अब अस्पताल सङ्ग २१० सिलिन्डर हुने र एउटा सिलिन्डर जुम्ला आइपुग्दा ३० हजार रुपैयाँ पर्ने बताए ।
उनले अफ्रिकाका एनआरएनलाई धन्यवाद दिदै अस्पताललाई अझै थप सिलिन्डर र स्वास्थ्य उपकरणहरु आवश्यक रहेको बताए ।