लन्डन । लन्डनको हन्स्लो बरोको ५६ औं मेयरको रुपमा नेपाली मुलका पूर्व गोर्खा विष्णुबहादुर गुरुङ निर्वाचित भएका छन् । हालसम्म बेलायतमा मेयर हुने उनि नेपाली मुलको तेस्रो व्यक्ति हुन् भने लन्डनमा गुरुङ पहिलो मेयर बनेका हुन् ।
यसअघि यहाँको स्वान्लीमा शंकर गैरे र कोलबर्न टाउनमा जगन्नाथ शर्मा मेयर निर्वाचित भएका थिए । लण्डनमा भने यसअघि कुनै पनि नेपाली मुलका मेयर बनेका छैनन् । यस क्षेत्रमा विशेषगरि भारतीताहरुको बसोवास रहेको छ भने नेपालीहरुको पनि बाक्लो बस्ती रहेको छ ।
नेपालको गोर्खा जिल्लाको बारपाक, सुलिकोट गाउँपालिका सौरपानी ४, फुन्चोकमा जन्मिएका गुरुङ सानैबाट आफ्ना पिताको शैक्षिक एवम् सामाजिक क्षेत्रबाट प्रभावित भएर राजनीति क्षेत्रमा प्रवेश गरेको बताउछन् । झन्डै दुई दशक बेलायती सेनामा सेवा गरेका गुरुङ सन् १९९५ मा सेनाबाट अवकास भएका हुन् ।
सेवारत हुँदा उनले हङकङ, ब्रुनाई, सिंगापुर तथा बेलायत लगायतका ठाउंहरुमा भ्रमण गरेका थिए । अवकाशपछि सन् २००५ देखि परिवारसहित लन्डनमा बस्दै आएका छन् । परिवारबाट पाएको साथ र सहयोगले नै आफूलाई अघि बढ्न सहयोग पुगेको उनी बताउछन् ।
सन् २०११ बाट लेबर पार्टीको सदस्यता लिएका गुरुङ सन् २०१४ देखि स्थानीय राजनीतिमा निरन्तर संलग्न हुदै आएका हुन् । सन् २०१४ मा हन्स्लोकै हानवर्थबाट पहिलोपटक काउन्सिलर निर्वाचित भएका थिए । २०१४ देखि २०१५ मा डेपुटी मेयर समेत बनेका गुरुङ सन् २०१८ मा पुन: काउन्सिलर निर्वाचित भए ।
बेलायतको केन्द्रीय राजनीतिमा नेपालीको प्रवेश नभएपनि स्थानीय क्षेत्रमा भने केहि नेपालीहरुले चासो देखाउंदै आएका छन् । आज मे ६ तारिखका दिन इंग्ल्याण्डमा हुँदै गरेको स्थानीय निर्वाचनको लागि पनि बेलायतमा सबैभन्दा धेरै नेपालीहरु बस्दै आएको अल्डरसटमा जीव बेल्वासे र नेम थापा मगर कन्जरभेटिभ पार्टीबाट काउन्सिलर पदमा विजयी भएका छन् ।
बेलायती राजनीतिमा नेपालीहरुको संख्या किन कम भएको भन्ने प्रश्नमा गुरुङ भन्छन् ‘नेपालीहरुले बेलायतको राजनीतिमा प्रवेश गरेपनि निरन्तरता दिन सकेको देखिंदैन, केहि समय संलग्न हुने तेसपछि वेपत्ता हुने गरेको पाइन्छ, निरन्तरता दिन सक्नुपर्छ र पदको लागि र रहरले मात्र नलाग्न आग्रह गर्छन् । ‘एक्स्पेरियन्स इज द बेस्ट क्वालिटी’ निरन्तरता दिन सके अनुभव बढ्ने र अनुभवका कारण गुणस्तरमा पनि वृद्धि पनि उनले रातोपाटीसंगको कुराकानीमा बताए ।
गैरआवासीय नेपाली संघ मुख्य संस्था भएकोले स्थानीय नागरिकको हक हितमा विशेष जोड दिनुपर्ने र स्थानीय प्रोटोकल र पोलिसीलाई पनि ध्यान दिनुपर्ने उनले बताए । लामो समयदेखि आफ्नो हक अधिकारको लागि लड्दै आएका पूर्व गोर्खाहरुले पनि मैदानमा उत्रेर भन्दा राजनैतिक पहलबाट नै समस्या समाधान गर्नुपर्ने उनको धारणा छ । यहाँका राजनैतिक पार्टीहरुसंग सहकार्य गरेर आफ्ना मागहरुलाई अघि बढाएमा बढी प्रभावकारी हुने उनले बताए ।
गोर्खा नेप्लिज् कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष समेत रहेका गुरुङ देवाचन बुद्धिष्ट सेन्टर यूकेको सल्लाहकार समेत हुन् । यसका साथै अन्य विभिन्न संघसंस्था लगायत आर्मड् फोर्सेस च्यारिटी (साफा) मा पनि आबद्ध रहँदै सामाजिक कार्यमा योगदान दिंदै आएका छन् ।
विशेषगरी भाषाको समस्यामा परेका पूर्व गोर्खाहरुको लागि हाउजिंगको सुविधा लगायतक अन्य थुप्रै सहयोग गर्दै आएको उनले बताए । पेशाले बस चालकको रुपमा कार्यरत गुरुङ बास्केटबल, ब्याडमिन्टन र स्विमिंगमा बढी चासो राख्छन् ।
मेयर गुरुङसँग गरिएको कुराकानी