लण्डन । नेपालमा कोरोनाको महामारी तीव्र रुपमा बढ्न थाले पछि गैरआवासीय नेपाली संघले आकस्मिक बैठक बोलाएको छ । महामारीका बेला संघको तर्फबाट भइआएका सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउने उदेश्यले बैठक बोलाइएको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए ।
बैठकमा विश्वभर छरिएर रहेका मेडिकल डाक्टर, नर्स र नेपालको हेल्थ अथोरिटीसँग बिभिन्न चरणमा छलफल गरी स्वास्थ्य समितिले वर्तमान अवस्थाको समिक्षा गर्दै कार्य योजना प्रस्ताव गर्ने तयारी गरिएको छ ।
हालसम्म एनआरएन जापानको तर्फबाट कोभिड पीडित राहत कोषमा ५ लाख रुपैयाँको प्रतिबद्धता आएको संघले जनाएको छ । एनसीसी बहराइनबाट ६ लाख संघको खातामा जम्मा भइसकेको छ ।
एनसीसी जर्मनीको तर्फबाट १ लाख रुपैयाँ सहयोग संघको खातामा जम्मा भएको बताएको छ । एनआरएनए अमेरिका र अष्ट्रेलियाले सहयोग जुटाउन छलफल शुरु गरेका छन् ।
शनिवार नेपाली समय अनुसार साँझ ६ बजे जुम मार्फत हुने बैठकमा राष्ट्रिय समिति परिषद्का अध्यक्ष तथा महासचिव, अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु, सदस्यहरु र मनार्थ परिषद सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।
बेलायतको ‘रेडलिष्टमा’ नेपाल
नेपालमा कोरोना संक्रमण तीव्र भइरहंदा बेलायतले पनि आज शुक्रबारबाट नेपाललाई ‘रेड लिष्ट’ मा राखेको छ । रेड लिष्टमा परेका मुलुकबाट बेलायत आउन प्रतिवन्ध रहनेछ । बेलायती नागरिक वा यहाँ स्थायी रुपमा बसोबास गर्नेहरुले भने कडा शर्तहरुसहित यात्रा गर्न छुट पाउनेछन् ।
ती यात्रुले अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्नेछ र यसको खर्च १७५० पाउण्ड लाग्छ । त्यस अवधिमा दुई पटक पिसिआर टेस्ट गराउनु पर्नेछ । तर, नतिजा नेगेटिभ आएपनि १० दिनको पूरै अवधि होटेल क्वारेन्टिनमै बिताउनुपर्नेछ ।