सन् २०१३ मा वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेका झापा जिल्ला, विर्तामोड नगरपालिका वडा नं १० निवासी ३५ वर्षिय प्रकाश गुरुङ काठमाडौंस्थित त्रिभुवन विमान स्थलमा यात्री ह्वील चेयरमा उत्रिएका थिए ।
खुट्टा नचल्ने भएर शारीरिक रुपमा अशक्त प्रकाश बोल्न पनि नसक्ने अवस्थामा थिए भने उनको खुट्टामा चप्पल समेत थिएन । मुस्किलले ज्यान बचाएर स्वदेश फर्किएका उनको अनुहारमा न कुनै कान्ति थियो न मनमा शान्ति नै थियो ।
तर, अहिले ६ महिनापछि अहिले प्रकाश मजाले हिँड्छन्, शारीरिक रुपमा पनि उनी तन्दुरुस्त छन् । नेपाल फर्केको झन्डै ६ महिनाको अन्तरालमा गुरुङले आफूले नयाँ जीवन पाएका अनूभूति गरिरहेको बताएका छन् ।
उनका आफन्तहरु समेत उनको स्वास्थ्य स्थितिमा आएको सुधार देखेर दंग छन् । गुरुङका आफन्त भन्छन्, “कस्तो अवस्थामा नेपाल आएको थियो, अहिले कस्तो भयो, सुरुमा नेपाल ल्याउँदा त हामीले यत्तिको तन्दुरुस्त र यस्तो सुधार होला भनेर कल्पना पनि गरेका थिएनौँ ।
” उनका आफन्तले थपे, “अहिले उनको स्वास्थ्य स्थिति निकै सुधार छ, हिँडडुल गर्न सक्छन् र निकै स्वस्थ भएका छन् ।” प्रकाशको परिवारमा मात्रै होइन, छरछिमेकमा समेत खुसियाली छ । गैरआवासीय नेपाली संघले गत वर्षदेखि सुरु गरेको मानवीय उद्धार अन्तर्गतको सहयोगको प्रसंशा गाउँले सबैले खुलेर गर्ने गरेका छन् ।
प्रकाश अहिले फुर्सदको बेला साथीभाइसँग गफिने गर्छन् । उनको खुशीको सीमा छैन । मनकारीहरु सामुहिक प्रयासले अप्ठ्यारोमा परेका मानिसको जीवन कति सहज बन्दो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण हुन् प्रकाश गुरुङ ।
जटिल स्वास्थ्य समस्याका कारण झन्डै ७ वर्ष साउदी अरबको अस्पतालमा भर्ना भई झण्डै अचेत अवस्थामा रहेका उनलाई गैरआवासीय नेपाली संघले नेपाली राजदुताबाससँगको समन्वयमा गत अक्टोबर अन्तिम साता संघको राहत तथा उद्दार कार्यक्रम अन्तर्गत सकुशल उद्दार गरी नेपाल फर्काइएको थियो ।
गुरुङलाई नेपालसम्म फर्काउने कार्यमा साउदीस्थित गैरआवासीय नेपाली संघका पदाधिकारीहरु, नेपाली राजदुताबास साउदी अरेविया तथा संघका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा.बद्री केसीले महत्वपूर्ण भुमिका खेलका थिए ।
गैरआवासीय नेपाली संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले मध्यपूर्वमा अलपत्र परेका नेपालीहरुको उद्धारको कार्य जारी राखेको छ । हाल सम्म १७ हजारभन्दा बढीको उद्धार गरेको छ ।






