लन्डन । सन् २०२१ को शुरुबाटै बेलायतमा उच्च रहेको कोरोना संक्रमणदर न्यून हुँदै गएको पछिल्लो तथ्यांकले देखाएको छ ।
यद्धपि मृत्युदर भने अझै कम नभएको बताइएको छ । शुक्रबार सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप ३४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विज्ञहरुका अनुसार हाल जारी लकडाउन र खोप वितरणमा गरिएको तीव्रताका कारण दैनिक मृत्युदरमा कमी आएको बताइएको छ । यससंगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार ४१५ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।
यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ८ हजार ५२३ जना नयां संक्रमित थपिएका छन् । थपिएका नयां संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ६३ हजार ८५ पुगेको छ ।
लकडाउनका कडा प्रतिबन्धका कारण नयां संक्रमित दरमा दैनिक ६ प्रतिशतले ह्रास आएको अधिकारीहरुले बताएका छन् । हाल बेलायतको संक्रमण मापन (आर) को दर 0.६ देखि 0.९ को बीचमा रहेको छ ।
इंग्ल्याण्डको राष्ट्रिय तथ्यांकको कार्यालय (ओएनएस ) को तथ्यांकले कोरोना भाइरसको लेवल निरन्तर घट्दै गएको देखाएको हो । हालको संक्रमण दर गत वर्ष अक्टुबरमा जस्तै समान रहेको तथ्यांकले देखाएको छ ।
अस्पतालमा संक्रमितको चाप अझै उच्च रहेपनि यो संख्या निरन्तर ओराको लाग्दै गएको छ । संक्रमणलाई नियन्त्रण गर्नअझै पनि निरन्तर सावधानी अपनाउन अनुरोध गरिएको छ ।
बेलायतका अस्पतालमा उपचार गरिरहेका कोरोना संक्रमितको संख्या पनि निरन्तर घात्दै गइरहेको छ । अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या घटेर १५ हजार ४८५ मा झरेको छ ।
यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि दुई हजार ४७ पुगेको छ ।
एक करोड ९१ लाख बढीले लगाए खोप
बेलायतमा हालसम्म झन्डै दुई करोड डोज भ्याक्सिन वितरण भैसकेको छ । शुक्रबारको तथ्याँक अनुसार खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या एक करोड ९९ लाख नाघेको छ ।
कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा एक करोड ९१ लाख ७७ हजार ५५५ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका छन् । यसैगरी ७ लाख ३६ हजार ३७ जनाले खोपको दोस्रो डोज लिएका छन् ।
कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले खोपलाई थप प्रभावकारी बनाउन चाडै ४० वर्ष उमेर पुगेकालाई खोप वितरण गरिने बताएको छ ।
सरकारले क्रमसः ४०-४९ वर्ष, ३०-३९ वर्ष र १८– २९ वर्ष उमेरका मानिसहरुलाई खोपको प्राथामिकतामा राखेको छ । जसमध्ये पुरुष, ब्ल्याक, एसियन र अल्पसंख्यक जातीय समूदायका मानिसहरुलाई भने अफर आउनसाथ् तत्कालै खोप लगाउन अनुरोध गरिएको छ ।