लन्डन । इंग्ल्याण्डमा हाल जारी तेस्रो चरणको लकडाउन खुकुलो बनाउने सम्बन्धमा सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ६८ पृष्ठ लामो मार्गचित्र प्रस्तुत गरेका छन् । पछिल्लो समय कोरोना संक्रमितको संख्या, मृतक संख्या र अस्पताल भर्ना हुनेको संख्यामा उल्लेखनीय सुधार आएसंगै विभिन्न चरणमा लकडाउनलाई खोलिने समबन्धमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीद्वारा जारी घोषणामा आउँदो मार्च ८ तारिख, मार्च २९, अप्रिल ३० र मे १७ मा गरि विभिन्न चारवटा चरणमा लकडाउन खोलिने बताइएको छ । पहिलो चरण अन्तर्गत मार्च ८ मा स्कुलहरु खोलिनेछन् भने केयरहोमका वासिन्दाले बढीमा एक जनासम्म भेट गर्न पाउनेछन ।
यसैगरी सोहिदिनबाट आउटडोरमा दुई जनासम्मले भेट्न र चिया, कफी लिन वा पिकनिक गर्न पाउनेछन् । यसअघि दुईजनासम्म आउटडोरमा भेट्न पाइने तर खान बस्न भने गैरकानूनी मानिन्थ्यो ।
तेस्तै पहिलो चरण अन्तर्गत नै मार्च २९ तारिखबाट आउटडोर पार्क, तथा प्राइभेट गार्डेनमा ६ जना अथवा दुई परिवारबीच भेटघाट गर्न पाइनेछ । टेनिस, बास्केटबल जस्ता आउटडोर खेल खेल्न अनुमति दिइनुका साथै एक क्षेत्रबाट अर्को क्षेत्रमा जान लगाइएको प्रतिबन्ध समेत फुकुवा गरिनेछ ।
यसैगरी लकडाउन खोल्ने क्रममा दोस्रो चरण अन्तर्गत अप्रिल १२ बाट हाल बन्द रहेका अत्यावश्यकबाहेकका सबै ‘रिटेल’ व्यवसाय सुचारु हुनेछन् । जीम, हेयर ड्रेसरदेखि लाइब्रेरी, म्युजियम, बियर गार्डेन, थिम पार्क लगायतका सार्वजनिक स्थलहरु खुला गरिनेछ । पब, रेष्टुरेन्टले ‘टेकवे’ का साथै आउटडोर सेवा सुचारु गर्न सक्नेछन् ।
तर,अन्तिम संस्कारमा ३० र वैवाहिक समारोहमा १५ जनासम्मको नियम भने कायम रहनेछ ।
तेस्रो चरण अन्तर्गत १७ मे बाट धेरै व्यवसायहरु संचालनमा आउनेछन् । ‘सामाजिक सम्पर्क’ माथिका अधिकांश बन्देज हटाइने भएको छ । पब, रेष्टुरेन्ट लगायत हस्पिटालिटी क्षेत्र पनि यही चरणमा सुचारु गरिंदैछ । यो चरणमा ६ जना वा दुई घर परिवारले ‘इन्डोर’ भेटघाट गर्न पाउने छन् । सिनेमा हल, होटल, खेलकुद तथा सांगीतिक कार्यक्रममा सामाजिक दुरी कायल राखेर संचालन गर्न सकिनेछ । खेलकुदका इभेन्टहरुमा १० हजारसम्म दर्शक सहभागी हुन पाउनेछन् ।
चौथो चरण अन्तर्गत जुन २१ बाट हाल लागू गरिएका सम्पूर्ण प्रतिबन्ध खारेज गरि इंग्ल्याण्डलाई लकडाउनमुक्त बनाइने प्रधानमन्त्रीको मार्गचित्रमा उल्लेख छ । लकडाउन खोल्नको लागि ‘डेट भन्दा डाटा’ लाई आधार मानिने प्रधानमन्त्रीले बताएका छन् ।
कोभिड खोप वितरण निरन्तर भएको, खोपको कोरोनाबाट ज्यान गुमाउने र अस्पताल भर्ना हुनेको संख्या घटाएको प्रमाण देखिएको, संक्रमणदरले अस्पतालहरुलाई प्रेसरमा पार्ने जोखिम नरहेको र भाइरसको नयाँ भेरियन्टले जोखिम नबढाएको अवस्थामा मात्र सरकारले लकडाउन खुकुलो पार्न तय गरेका योजना लागू गरिनेछ ।
बेलायतमा पछिल्लो समयमा कोरोना विरुद्धको खोपलाई तीव्रता दिएको र लकडाउनको प्रभावकारीताका कारण कोरोना संक्रमणमा कमी आएको बताइएको छ । सोमबार सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा १७८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
यो संख्या धेरै समयपछिको न्यून हो । बेलायतमा कुल मृतक संख्या एक लाख २० हजार ७५७ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ । यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख २६ हजार १५० पुगेको छ । बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ७७ लाख बढीले खोप लगाएका छन् ।
सोमबारसम्म सार्वजनिक तथ्याँक अनुसार बेलायतमा हालसम्म एक करोड ७७ लाख २३ हजार ८४० जनाले खोपको पहिलो डोज लिएका छन् । यसैगरी छ लाख २४ हजार ३२५ जनाले दोस्रो डोज समेत लिइसकेका छन् ।