लण्डन । कोरोना भाइरसको संक्रमणबाट एकसातामा विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूकेमा मात्र ३ जनाको कोरोना संक्रमितको निधन भएको हो ।
यससंगै कोरोना संक्रमणका कारण विदेशमा निधन हुने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ ।
शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ, ती मध्ये ५५ हजार ७ सय ९३ जना कोरोना मुक्त भएको गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाले बताए ।
यो कुल संक्रमितको ९४ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।
साक्षरता सम्बन्धी निर्देशिका जारी
गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिले खोप साक्षरता सम्बन्धी निर्देशिका जारी गरेको छ । आम नेपालीलाई खोपको बारेमा सचेत र सतर्क बनाउने उद्देश्यका साथ जारी यो निर्देशिका सबैले बुझ्ने गरी सरल नेपाली भाषामा छ ।
सो निर्देशिकामा खोप, खोप लगाउँदा, लगाइसकेपछि अपनाउनुपर्ने सावधानी, खोप लगाइसकेपछि देखिनसक्ने सम्भावित असर वा स्वास्थ्य समस्या र त्यसपछिको स्वास्थ्य मापदण्ड लगायतका विषयहरु समेटिएका छन् ।
यसैबीच स्वास्थ्य समितिले छिट्टै स्वास्थ्य सम्बन्धि एक सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । त्यसको आवश्यक तयारी र लक्षित समूह पहिचानको काम भइरहेको छ ।
कोभिडको खोप लिएकाबाट पनि भाइरस सर्न सक्ने
कोभिड विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै संयोजक डा सन्जिव सापकोटाले सतर्क रहन सुझाव दिएका छन् ।
हालसम्म कुनैपनि खोपको प्रभावकारिता शत प्रतिशत नदेखिएकाले खोप लगाइसकेपछि पनि संक्रमण हुँदैन वा आफूबाट अरुलाई सर्दैन भन्नेमा ग्यारेन्टी नहुने उनको भनाई छ ।
खोपको दुबै मात्रा प्राप्त गरेका व्यक्तिलाई पनि पुनः संक्रमण भएको देखिएकाले स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको डा सापकोटाले बताए