लन्डन । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण सम्बन्धी काम तथा संयोजनको भूमिका निर्वाह गर्न नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समितिका यूरोप महामन्त्री समेत रहेका गंगाधर गौतमलाई तोकिएको छ ।
नेपाली कांग्रेस पार्टीसंग आवद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुमा प्रतिष्ठानको तर्फबाट नीति, अनुसन्धान र प्रशिक्षण सम्बन्धी कामको समन्वय गर्न केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बेल्जियम निवासी गौतमलाई नियुक्त गरेको हो ।
नेपाली जनसम्पर्क समिति रहेका सबै देशमा एक एक जना शाखा प्रमुख नियुक्त गर्ने अधिकार समेत नेपाली कांग्रेसले महामन्त्री गौतमलाई प्रत्यायोजन गरेको छ ।
साथै प्रतिष्ठानका प्रमुख, कार्यकारी निर्देशक र सम्बन्धित निर्देशकहरुको निर्देशन,समन्वय र सम्पर्कमा रही पार्टीको हितमा प्रतिष्ठानको कार्य गर्न गराउन समेत पत्रमा उल्लेख गरिएको छ ।
आफूले पाएको यस जिम्मेवारीलाई अहिलेसम्मकै महत्वपूर्ण रहेको भन्दै यसको समन्वयकारी भूमिका निर्वाह गर्ने गौतमले बताएका छन् ।







