बेलायतमा संक्रमित संख्याले दैनिक जसो नयां रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घन्टामा ५३ हजार १३५ जना नयां कोरोना संक्रमित थपिएपछि अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको हो ।
हिजो सोमबार नयां रेकर्ड कायम भएको भनिएपनि आज सार्वजनिक संख्या दश हजार भन्दा बढी रहेको छ । सोमबार सार्वजनिक तथ्याँक अनुसार ४१ हजार ३८५ नयां संक्रमित थपिएका थिए ।
यससंगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या २३ लाख ८२ हजार ८६५ पुगेको छ । संक्रमित संख्यामा वृद्धि भएसंगै यहाँका अस्पतालहरुमा संक्रमितको चाप तीव्र रुपमा बढेको छ ।
अस्पतालमा भर्ना हुनेको संख्या पनि महामारी शुरु भएयाताकै सबैभन्दा बढी पुगेको स्वास्थ्य नेशनल हेल्थ सर्भिसले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ४१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा ७१ हजार ५६७ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ । पछिल्लो २४ घन्टामा मात्र दुई हजार ३२२ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् ।
हाल बेलायतका अस्पतालमा २१ हजार भन्दा बढीको उपचार भैरहेको छ भने एक हजार ५२९ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।
बेलायतमा हालसम्म छ लाख १६ हजार भन्दा बढीलाई फाइजर-बायोएनटेकद्वारा विकसित खोप दिइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।