लण्डन । विश्व प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष साह टप ३ मा पुग्न सफल भएका छन् । सामान्य मौलिक नेपाली खानाको प्रदर्शनी गरेर निर्णायक मण्डलको जिब्रोमा मीठास भरेर प्रशंसा समेत पाए सन्तोषले ।
बुधबार राति बीबीसी वानमा प्रसारित फाइनल राउन्डको दोस्रो दिनको प्रतिस्पर्धामा उनि टप ३ मा छनौट भएका हुन् । बुधबारको प्रतिस्पर्धामा सन्तोषले दुई चरणमा नेपाली परिकारहरु पस्किएका थिए । आफूले सबैभन्दा बढी माया गर्ने व्यक्तिको लागि खाना बनाउनुपर्ने राउन्डमा आफ्नी आमाको सम्झनास्वरूप पुरी, भुटेको खुर्सानी र नुन, बासी भात शैलीमा भुटेको चिउरा र गंगटा (क्र्याब) को ‘करी’ अन्जिर र अदुवा भरेको चिप्ले भिन्डी, आँप र नरिवलको चटनी, आलु, मेथी र अनारको सलाद बनाएका थिए ।
नेपाली खानालाई विश्वसामू चिनाउने सपना बोकेर अघि बढेका सन्तोषले नेपाली टोपी लगाएर प्रस्तुत हुँदा सम्पूर्ण नेपालीको नै शान बढाएका छन् । उनले बीबीसी टेलिभिजनमार्फत लाखौं दर्शकहरुमाँझ नेपाली परिकार पस्किएर प्रशंसा बटुल्न सफल भएका छन् ।
बाल्यकालको स्मरण गर्दै गाउँमा मजदुरी गर्दाका बखत आमाले ‘टिफिन बक्स’ मा खाना बोकेर ल्याए जस्तै गरि प्रतियोगिताको महत्वपूर्ण राउण्ड ‘सेफ्स टेबल’ राउन्डमा उनले ‘टिफिन बक्स’ मा नै खाना सर्भ गरेका थिए । उक्त प्रतियोगितामा उनले जिम्बुसँग मोलेको पोलेको मासु, रायोको साग, पुदिना हालेको पराठा, साँधेको भटमास, क्रिस्पी प्याज, बोन म्यारो सस लगायतका मौलिक नेपाली परिकारहरुलाई आकर्षक ढंगले प्रस्तुत गरेका थिए ।
निर्णायक मण्डलमा सहभागी बेलायतका प्रतिष्ठित सेफहरुले स्वादिष्ट खाना भन्दै प्रशंसा गरेका थिए । नेपाली खानालाई विश्व प्रतिष्ठित टेलिभिजन च्यानल मार्फत यसरी प्रदर्शनी गर्ने सन्तोष एकमात्र नेपाली हुन् । बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल राउण्ड बिहीबार राति हुदैछ । अन्तिम विजेताको लागि हुने उक्त राउन्डमा सन्तोषले अन्य दुईजना प्रतिस्पर्धीहरुसंग भिड्नुपर्नेछ ।
सन्तोषले यस अघि विभिन्न नेपाली परिकारहरु टिमुर स्पाइस्ड् अक्ट्पस विथ सिस्नु र आलुको तरकारी, भाङको चट्नी र कर्कलोको पात, पोलेको भेडाको मासु, खसीको मासुको झोल, बेथेको साग, गहुँको रोटी, तामाको अचार पोलेको माछा, आलुको अचार, करेला र टमाटरको चट्नी तथा ढुम्रीभित्र आलुको अचार राखेर बेलायतका प्रख्यात ‘फुड क्रिटिक’ हरु टम पार्कर र ग्रेस डेन्टलाई चखाइसकेका छन् ।
इण्डियन कुइजिनबाट वर्षौंदेखि सँगालेको अनुभवका आधारमा नेपाली कुइजिनबाट ‘मिसिलिन स्टार’ प्राप्त गर्ने पहिलो नेपाली सेफ बन्ने सपना बोकेको सन्तोषले बताए ।