लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले कोरोना पीडित नेपाली पत्रकारहरुका लागि स्थापित ‘पत्रकार आपत्कालीन राहत कोष’ मा २३ लाख रुपियाँ जम्मा गरेको छ । उक्त सहयोग रकममध्ये २० लाख रुपियाँ महासंघको अक्षय कोषमा राखिने र बाँकी ३ लाख रुपियाँ कोरोना महामारीका कारण समस्यामा परेका श्रमजीवी पत्रकारहरुका लागि तत्काल खर्च गरिने गत साउनमा बसेको बैठकमा शाखाका अध्यक्ष नरेश खपांगी मगरले बताएका थिए ।
पत्रकार महासंघ यूकेले सन् २०१७ आयोजना गरेको एक च्यारिटी कार्यक्रममा संकलन गरेको रकममध्येबाट २३ लाख रुपैयाँको सहयोग गर्ने निर्णय गरेको थियो । महासंघको केन्द्रीय कार्यालयमा स्थापित आपतकालिन कल्याण कोषमा शाखाका तर्फबाट २३ लाख ५ हजार ५७७ रुपियाँ जम्मा गरिसकिएको छ ।
संघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सो कोषको अवधारणामा युके शाखाको उल्लेखनीय भूमिका रहेको बताउँदै सहयोगका लागि धन्यवाद दिएका छन् । कोरोना महामारी जस्ता समस्याबाट विश्वभर रहेका नेपाली पत्रकारहरुलाई अहिले परिरहेको र भविष्यमा पर्नसक्ने प्रभावबाट राहत दिन १ करोड रुपियाँका अक्षयकोष बनाउने उद्देश्यले महासंघले सो कोष स्थापना गरेको हो ।
कोभिड–१९ बाट उत्पन्न समस्याका कारण नेपालमा हजारौं पत्रकारहरुले रोजगारी गुमाएका तथा देशभरि सैयौंको संख्यामा पत्रपत्रिका लगायत थुप्रै एफएम रेडियो स्टेशनहरु बन्द भएका छन् । ‘रोजगार गुमाएका पत्रकारहरुलाई मानवीय सहयोग गर्न आपत्कालीन कोष खडा गरिएको सो कोषमा हालसम्म करिब ७० लाख रुपियाँ जम्मा भइसकेको बताइएको छ ।
यसअघि पनि तत्कालिन अध्यक्ष चिरन शर्माको कार्यकालमा भूकम्प पीडित पत्रकारको लागि नेपाल पत्रकार महासंघको आपतकालिन कोषमा बेलायत शाखाको तर्फबाट १३ लाख रुपैयाँ सहयोग गरिएको थियो ।