लन्डन । गैर आवासीय नेपाली संघ यूकेसँग सम्बन्धित विषयलाई लिएर केहि मिडियामा प्रकाशित समाचारको बारेमा गैर आवासीय नेपाली संघ यूकेले बुधबार एक विज्ञप्ति जारी गरेको छ । अन्तरराष्ट्रिय समन्वय परिषदका सदस्यहरु रामशरण सिमखडा र भक्त गुरुङ्गले मनोनयन शुल्क तिर्न बाँकी रहेको भन्ने समाचार भ्रामक रहेको विज्ञप्तिमा पुष्टि गरिएको छ ।
गैरआवासीय नेपाली संघ यूकेको तर्फबाट अध्यक्ष पुनम गुरुङ्ग र महासचिव फडिन्द्र भट्टराईद्वारा जारी विज्ञप्तिमा सम्बन्धित मिडियाकर्मीलाई संघसंग सम्बन्धित समाचार लेख्नु पूर्व संघको आधिकारिक कुराको जानकारी लिन समेत अनुरोध गरिएको छ । केही अनलाईन मिडियाहरुमा प्रकाशित समाचारको खण्डन गर्दै यसैलाई आधिकारीक मान्नको लागि संघले अनुरोध गरेको छ ।
गैर आवासीय नेपाली संघ यूकेद्वारा जारी विज्ञप्ति
जो जस संग सम्बन्धित छ
गैर-आवासीय नेपाली संघ यूकेको नाममा केही मिडियाहरुमा प्रकाशित पत्रमा अन्तर्राष्ट्रिय समन्वय समितिमा मनोनीत सदस्यद्वय राम शरण सिमखडा र भक्त गुरुङको मनोनयन शुल्क बारेमा भ्रमपूर्ण समाचार प्रति हाम्रो गम्भिर ध्यान आकर्षण भएको छ ।
मिति १९ जनवरी २०२० का दिन बसेको पूर्ण बैठकमा “मनोनित (कोअप) सदस्यहरुको शुल्क भुक्तानीको सवालमा यस पूर्व कार्यकालमा राखिएको मापदण्डको आधारमा सोही अनुरुप पत्राचार गरी भुक्तानी उपर गर्न कोषाध्यक्ष तेजेन्द्र रोक्का मगरलाई अध्याबधिक अबगत गराउने” भन्ने निर्णयमात्र भएको हो ।
अन्तर्राष्ट्रिय समन्वय समिती मनोनय शुल्कबारे सामान्य छलफल भएता पनि निर्णय नभएको साथै पत्राचारको अख्तियारी कसैलाई नदिएको स्पष्ट पार्न चाहन्छौ । राष्ट्रिय समन्वय परिषद (एनसीसी) को मनोनितहरुको बारेमा भएको निर्णयलाई मनोनित आईसीसी सदस्य संग जोडेर आएको बिषयलाई गम्भिर रुपमा लिएको जानकारी गराउन चाहन्छौ ।
यो बिषयमा सामान्य छलफल हुँदा विधानत: आईसीसी सदस्यमा मनोनयन बापतको शुल्क केन्द्रमै बुझाईसके पछि एनसीसीमा बुझाउन नपर्ने, एनसीसी यूकेको आज सम्मको नजिर तथा प्रचलन पनि केन्द्रमा बुझाए पश्चात पुन: यहां शुल्क बुझाउनु नपर्ने तथा कुनै राष्ट्रिय समन्वय समितिमा समेत यो प्रचलन नभएको, उम्मेद्वारी शुल्क र मनोनयन शुल्कको फरक दायरा हुने पत्राचार तथा जानकारी कार्यसमितीको बैठकमा सम्बन्धित आइसीसी सदस्य स्वयंले दिनु हुंदा कसैको कुनै बिमती रहेन ।
तत पश्चात थप कुनै निर्णय नभएको समेत जानकारी गराउन चाहन्छौ । सम्बन्धित मेडियाकर्मी साथीहरुलाई संघ संग सम्बन्धित समाचार लेख्नु पूर्व संघको आधिकारिक कुराको जानकारी लिन अनुरोध गर्दछौ । साथै गैरआवासीय नेपाली संघ बेलायतले बैठकका आधिकारिक निर्णयहरु बैठक पश्चात मेडियामा सार्वजनिक गर्दै आई रहेको छ र संघ संग आवद्द पदाधिकारीहरु संग जोडेर बेला बखत हुने गरेका कथित मेडियावाजीको भ्रममा नपर्न समेत सम्पूर्ण जन समुदायमा अनुरोध गर्दछौ ।
हार्दिक धन्यबाद ।
पुनम गुरुङ फडिन्द्र भट्टराई
अध्यक्ष महा-सचिव
मिति: ०२ डिसेम्बर २०२०
बोधार्थ: १. डा हेमराज शर्मा – महासचिब, एनआरएन अन्तराष्ट्रीय समन्वय परिषद
२. श्री महेश श्रेष्ठ – कोषाध्यक्ष, एनआरएन अन्तराष्ट्रीय समन्वय परिषद
३. श्री तेजेन्द्र रोका मगर – कोषाध्यक्ष, एनसीसी यूके