लण्डन । विदेशमा रहेर कोरोना संक्रमित करिब ९१ प्रतिशत नेपालीहरु संक्रमणमुक्त भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांकले देखाएको छ ।
शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय नेपालीहरु संक्रमित भएकोमा हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएको संह्क्ले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
हालसम्म विदेशमा मात्र१९ देशका २९३ जना नेपालीहरुको कोरोनाका कारण ज्यान गएको छ । सबैभन्दा बढी साउदी अबरमा ८४ जना, बेलायतमा ६९ जना र भारतमा ४० जना नेपालीको निधन भएको छ ।
यो साता स्पेन, युके, युएई, कतार, साउदी अरब, र जापानमा थप संक्रमण समितिका संयोजक डा सापकोटाले जानकारी दिए ।
संघको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका राष्ट्रिय शाखा, विदेशका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक संघसंस्था लगायतबाट प्राप्त सूचनाको आधारमा विगत ३२ साता देखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्दै आएको छ ।
तथ्यांक संकलन गर्न डा. कुश श्रेष्ठ (अष्टेलिया), डा. सागर पौडेल (भारत), एलिजा केसी (जापान), सांग्रीला सुन्दरी लामा (स्पेन), संर्घष केसी (नेदरल्याण्ड), चिरन्जीवी खड्का (चेक रिपव्लिका), सागर सुवेदी (अष्टिया), डा. बोध सुवेदी (पोल्याण्ड), सरिता पाण्डे भट्टराई (साउथ अफ्रिका), बसन्त गौतम (फिन्ल्याण्ड) डा. देवी बस्नेत (कोरिया), डा. नितेश अर्याल (कतार), सत्य चौधरी (अमेरिका), यासमिन बेगम सैयद (साउदी अरेबिया) , डा. दीलिप कुमार यादव र शुनिल शाह (युके) ले एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिलाई सहयोग गर्दै आएका छन् ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विवाह, विभिन्न पारिवारिक समारोह लगायतका मानिसको जमघट बढी हुने कार्यक्रममा सकेसम्म सावधानी अपनाउन संघले अनुरोध गरेको छ । त्यस्ता समारोहमा कम संख्यामा मात्रै उपस्थित हुने र डेढदेखि दुई मिटरसम्मको भौतिक दुरी कायम गर्न सबैलाई अनुरोध गरिएको छ ।
विश्वका विभिन्न खोप निर्माण कम्पनीले कोरोनाविरुद्धको खोपको परीक्षण ९५ प्रतिशत बढी प्रभावकारी र सफल भएको दाबी गरिरहेकोले आशाका नयाँ किरण देखिएपनि अहिले नै ढुक्क हुन सक्ने समय नआएकोले स्वास्थ्य सावधानी नै एक मात्र उपाय भएको सापकोटाले बताए । जाडो मौसम सुरु भएका विभिन्न मुलुकमा इन्फ्लुएञ्जा, फ्लू लगायतका स्वास्थ समस्या समेत देखिने भएकोले त्यसतर्फ समेत सचेत रहन समितिले आग्रह गरेको छ ।