लण्डन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औं जन्मजयन्तीको अवसर पारेर लन्डनस्थित नेपाली दूतावासले आइतबार भर्चुअल ‘नेपाली साहित्य महोत्सव’ को आयोजना गरेको छ । सोहि अवसर पारेर बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुवसु क्षेत्री) द्वारा सम्पादित बेलायतमा रहेका प्रतिनिधि नेपाली कवि तथा साहित्यकारहरुका रचनाहरु सम्मिलित ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ संग्रहको लोकार्पण गरिएको थियो । यसैगरी नेपालको सबैभन्दा पुरानो साहित्यिक मासिक पत्रिका ‘शारदा’ को बेलायतमा नेपाली साहित्य विशेषांक १ र २ को पनि लोकार्पण गरियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रा डा माइकल हट, सम्मानित अतिथिका रुपमा प्रा. डा सूर्यप्रसाद सुवेदी तथा विशिष्ट अतिथिका रुपमा साहित्यकारहरु सुरेशजंग शाह, लक्ष्मी राई ‘लारा’ र गोपी सापकोटाको सहभागिता थियो । कार्यक्रम उद्घाटनपछि अतिथिहरुलाई स्वागत गर्दै कार्यक्रमका सभापति एवंम् राजदूत सुवेदीले नेपाली भाषा तथा साहित्यको विकासमा बेलायतमा रहेका कवि तथा साहित्यकारहरुले पुर्याएको योगदानको चर्चा गरेका थिए ।
लण्डनस्थित ‘स्कुल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडीज’ बाट पिएचडी गरी सोही विश्वविद्यालयको ‘नेपाली एण्ड हिमालयन स्टडीज’ विभागमा रहेर नेपाली भाषा, साहित्यको अध्यापन गरेर हाल अवकाशप्राप्त प्रमुख अतिथि प्रा. डा. माइकल हटले समग्र नेपाली साहित्यको विकासक्रमबारे चर्चा गरे । उनले नेपालका वरिष्ठ कवि तथा साहित्यकारहरुको योगदानबारे बोल्दै उनीहरुका सिर्जना वाचन गरी सुनाए । डा हट अहिले अवकाश लिइसकेका छन् ।
कार्यक्रमका विशेष अतिथि प्रा. डा. सूर्यप्रसाद सुवेदीले महाकवि देवकोटाले नेपाली भाषा तथा साहित्यमा पुर्याएको योगदानको चर्चा गरे । कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाली साहित्य विकास परिषद् बेलायतका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजंग शाहले बेलायतमा नेपाली साहित्यको विकास र विस्तारसम्बन्धी आफ्नो कार्यपत्र प्रस्तुत गरे ।
त्यसैगरी विशिष्ट अतिथि एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायतकी अध्यक्ष लक्ष्मी राई ‘लारा’ ले बेलायतमा नारी हस्ताक्षरहरुको विषयमा जानकारी गराइन् । विशिष्ट अतिथि एवं कवि तथा साहित्यकार गोपी सापकोटाले बेलायतमा नेपाली साहित्यको वर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरे ।
संचालित सो कार्यक्रममा बेलायत लगायत यूरोप तथा नेपालबाट समेत कवि तथा साहित्यकारहरुका कविता, गीत, मुक्तक वाचनसहित ‘काव्य गोष्ठी’ गरिएको थियो । कार्यक्रममा बेलायतमा रहेका लोकप्रिय बाँसुरी समुह र कलाकारहरु सेमन्त राई, भरत लोहारुङ्ग र सुरेन्द्र इङ्गनामले बाँसुरीवादन, कलाकारहरु डम्बर सिंह प्रयास र मनोज अन्जानले सारङ्गीवादन एवं कलाकार प्रमोद शर्माले गायन प्रस्तुत गरे ।
कृति विमोचन, कार्यपत्रहरुको प्रस्तुति र काव्य गोष्ठी समेत गरि कार्यक्रमलाई दूतावासकी उपनियोग प्रमुख काउन्सेलर रोशन खनाल र द्वितीय सचिव रामबाबु नेपालद्वाले तीन चरणमा सञ्चालन गरेका थिए ।
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, यूकेद्वारा देवकोटा जयन्ती
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, यूके च्याप्टरले नोभेम्बर १४ तारिख शनिबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती मनाएको छ । ‘जुम’ मार्फत आयोजित सो कार्यक्रममा देवकोटाको व्यक्तित्व र उनको साहित्यिक योगदानको चर्चा गरियो । च्याप्टरकी अध्यक्ष लक्ष्मी राई (लारा) ले कार्यक्रमको सभापतित्व गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले अनेसास यूकेले बेलायतमा नेपाली भाषा-साहित्य र संस्कृतिको विकास एवं बिस्तार गर्न उल्लेखनीय सेवा गरिरहेको धारणा राख्दै अनेसास यूकेलाई धन्यवाद दिए । राजदूत सुवेदीले बेलायतमा रहने हरेक नेपाली नेपालको दूत भएकाले नेपाली साहित्य, भाषा, संस्कृति, संस्कार, परम्परा बचाएर सदैव नेपाली भइ बांचिरहन र नेपालको गरिमा उंचो राख्न आव्हान पनि गरे ।
नेपाली साहित्य विकास परिषद् यूकेद्वारा देवकोटा जयन्ती
लन्डन– बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके र यसको नेपाल च्यापटरद्वारा संयुक्तरूपमा ११२औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती ‘भर्चुअल’ प्रविधिबाट मनाइएको छ ।
बेलायत, नेपाल र रुसबाट सहभागी साहित्यकारहरूको सभालाई परिषद्का पदेन संरक्षक राजदूत वरिष्ठ साहित्यकार डा. दुर्गाबहादुर सुवेदीले उद्घाटन गर्दै साहित्य सिर्जनात्मक क्षमता र कृतिहरूको आधारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्थान विश्व स्तरका विशिष्ठ साहित्यकारहरूकै पंक्तिमा रहेको गर्वकासाथ भन्न सकिने बताए ।
राजदूत सुवेदीले बेलायतमा परिषदले महाकविको जन्मजयन्ती मनाएर नेपाली साहित्यको जागरण ल्याउने ऐतिहासिक कार्य गरेको र यो सराहनीय भन्दै संरक्षक भएर परिषद्को रजत महोत्सव मनाउँन पाउँदा आफूलाई गौरवबोध भएको पनि बताए।
समारोहमा परिषद्का प्रमुख वरिष्ठ सल्लाहकार तथा यती नेपाली एसोसिएसन यूकेका पूर्वअध्यक्ष डा. राघवप्रसाद धिताल (ओविई) ले नेपाली साहित्यका धरोहर महाकवि देवकोटाको सिर्जनात्मक प्रेरणा हामी जहाँ बसे पनि पुस्तापुस्तासम्म फैलाउँदै जानु पर्दछ भन्दै यस मार्गमा परिषद्का अथक प्रयासहरू उदाहरणीय रहेको उल्लेख गरे ।
साहित्य संगम यूकेद्वारा देवकोटा जयन्ती
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्तीको अवसर पारेर साहित्य संगम यूकेले भर्चुअल माध्यमबाट एक विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
देवकोटा जयन्ती तथा शुभ दिपावली २०७७ को उपलक्ष्यमा आइतबार शुभकामना आदानप्रदान तथा साहित्य रचना वाचन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा देवकोटाको साहित्यिक योगदानलाई स्मरण गर्दै साहित्यिक रचनाहरु वाचन गरिएको थियो । साहित्य संगमका कुमार केसीको संयोजन र संचालनमा सम्पन्न भएको कार्यक्रमको शुरुमा संगमका संस्थापक साहित्यकार विनोद अधिकारीले स्वागत गर्दै वर्षदिन भित्र दिवंगत संगमका सदस्यहरुको परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रस्तुत साहित्यिक रचनाहरुबारे साहित्य चौतारीका संस्थापक वासु शर्माले आफ्नो संक्षिप्त समालोचना गरेका थिए । साहित्य संगम यूकेले बेलायतमा नेपाली भाषा-साहित्य र संस्कृतिको विकास एवं बिस्तार गर्न उल्लेखनीय सेवा गरिरहेको धारणा राख्दै शर्माले साहित्य संगम यूकेलाई धन्यवाद दिए ।