लन्डन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोपको विकासमा संसारभर दर्जनौं कम्पनी लागि परेका छन् । जसमध्ये रसियाले विकास गरिरहेको ‘स्पटनिक भी’ भ्याक्सिन ९२ प्रतिशत प्रभावकारी रहेको दावी गरिएको छ ।
फाइजर र बायोटेक कम्पनीले सोमबार मात्र आफूहरुले विकास गरेको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी रहेको जानकारी दिएका थिए ।
फाइजर कम्पनीले सार्वजनिक गरेको अन्तरिम नतिजाको दुई दिनपछि रसियन भ्याक्सिन कम्पनीले ‘स्पटनिक भी’ थप प्रभावकारी रहेको तथ्य सार्वजनिक गरेको हो ।
१६ हजार स्वयंसेवकमा गरिएको तेस्रो चरणको परीक्षण प्रभावकारी रहेको कम्पनीले बताएको छ । परीक्षणबाट प्राप्त नतिजा अनुसार उक्त भ्याक्सिन ९२ प्रतिशत सफल रहेको कम्पनीले दावी गरेको छ ।
भ्याक्सिन निर्माणमा सहयोग पुर्याउदै आएको कोष ‘द रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड’ (आरडीआईएफ) ले भ्याक्सिनको नतिजा सफल रहेको र यसबाट कुनै प्रतिकुल असर नदेखिएको बताएको छ । यसको अनुगमन जारी रहेको पनि कम्पनीले जानकारी दिएको छ ।