काठमाडौं । आख्यानकार गगनसिंह थापाको सातौ कृति ” मरुभूमिकी महारानी ” यसै हप्ता सार्वजनिक हुदैछ । साहित्यकार थापाका नाति सुहिम थापाले उक्त कृतिको कभर सार्वजनिक गर्दै यो जानकारी गराएका हुन । उनले अगाडि लेखेका छन ” मेरो हजुरबुबा मेरो , परिवार र समाजको आदर्श हो र मानवता के हो र के हुनु पर्छ भन्ने ज्वलन्त उदाहरण हो ।
शिक्षा ,साहित्य , प्रजातान्त्रिक आन्दोलन , समाज बिकास र प्रकृति संरक्षणमा उहाँको योगदान अतुल्य रहेको छ । उहाँ हाम्रो समाज , सभ्यता र संस्कृतिको ज्ञानको अदभुत खानी हो र प्रेरणादायी लेखक पनि । एउटा कलम र सादा कपि सङ्गै उहाँले आफ्ना पाठकहरुलाई मस्तिष्क र आत्माको यात्रामा हिडाउन सक्ने खुबी राख्नु हुन्छ ।
मेरो देशको लागि मैले देखेको सपना बिषयको अन्तर्राष्ट्रिय बक्तृत्वकला प्रतियोगिता बाट मैले पाएको पुरस्कार रकम जुन मेरो जिवनको पहिलो आय हो , हजुरबुबाको यो कृति मरुभूमिकि महारानी प्रकाशनमा लगाउन पाएकोमा म सार्है नै खुशी छु । किनकी मेरो हजुरबुबा मेरो आदर्श हो र म उहाँको एक असल बिरासत बन्न चाहान्छु ।
” थापाको लघु उपन्यास स्वरुपको यो कृतिमा बाल्यकालमा अध्य्यनको क्रममा भारत राजस्थानमा रहदाका दुख र संघर्ष अनि बालसखा सङ्गको मनोबैज्ञानिक प्रेमिल आकर्षण र मरुभूमिको रोमान्चक बर्णनको कथा बस्तु बुनिएको छ ।
बि.सं. २००५ भाद्रमा अछामको पाटेखेतमा जन्मनु भएका आख्यानकार थापाका सोह्र सौगात ( २०३५ ) , कर्णालीको छेउछाउ ( २०७०) , पू्र्खाको चिट्ठी ( २०७२), मेरो मधुशाला ( २०७४) , उज्ज्वली ( २०७६) र महाप्रलय ( २०७७ ) गरि छ कृतिहरु प्रकाशित छन भने मरुभूमि कि महारानी र अस्ताञ्चलको ढोका बाट थप दुई कृतिहरु प्रकाशनको क्रममा छन ।
मुलतः कर्णाली र सुदुर पश्चिम क्षेत्रको भाषा , सभ्यता र संस्कृति माथी कलम चलाउनु हुने कैलाली टिकापुरका थापा मोबरा साहित्यिक पुरस्कार ( २०७३) र सुदुर पश्चिम साहित्य पुरस्कार ( २०७६ ) बाट समेत सम्मानित हुनुहुन्छ ।