लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) को शव्द र वरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘अधर’ को म्यूजिक भिडियो घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको छ । यस गीतलाई शिखर सन्तोषले संगीत भरेका हुन् ।
लण्डनका मुख्य आकर्षक स्थलहरु ट्राफलगर स्क्वायर, अक्सफोर्ड स्ट्रिट, ओटु एरिना लगायतका स्थानहरुमा म्यूजिक भिडियोको छायांकन गरिएको छ । यस भिडियोमा सञ्चारकर्मी एवं निर्देशक कुशल श्रेष्ठको छायांकन, सम्पादन तथा निर्देशन रहेको छ । श्रेष्ठले यसघि दर्जनौं म्यूजिक भिडियो निर्देशन तथा सम्पादन गरिसकेका छन् ।
बेलायती नेपाली समुदायमा सफल व्यवसायी र समाजसेवीका रुपमा स्थापित विष्णु खरेलले यसै भिडियो मार्फत मोडलिङमा पाइला टेकेका हुन् । अभिनयमा सशक्त देखिएका खरेल आफूलाई थप परिमार्जित गर्दै अघि बढ्ने बताउछन । म्युजिक भिडियोमा बेलायतमा आधा दर्जन भिडियोमा अभिनय गरिसकेकी स्थापित मोडल रोश्ना कार्कीलको अभिनय पनि देख्न सकिनेछ ।
आफूले गरेको अभिनयमध्ये अहिलेसम्मकै उत्कृष्ट रहेको कार्कीले बताएकी छन । ‘अधर’ को म्यूजिक भिडियोलाई एक साता अघि बेलायतस्थित नेपाली दूतावासमा एक समारोहबीच सार्वजनिक गरिएको थियो । उक्त म्यूजिक भिडियोलाई डा.दुबसु क्षेत्री नेशनल डेभेलपमेन्ट फाउण्डेसनको प्रस्तुतिमा लण्डनस्थित केके मुभिजसंगको सहकार्यमा म्यूजिक भिडियो तयार भएको हो ।
‘अधर’ को म्यूजिक भिडियो हेर्नुहोस ।