लन्डन । कोरोना संक्रमणका कारण पछिल्लो एकसाताभित्र विदेशमा थप १७ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा सबैभन्दा बढी साउदी अरबमा बस्ने नेपाली रहेका छन् । त्यहाँ १६ जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको छ । यसैगरी युएईमा पनि एक नेपालीको कोरोनाका कारण ज्यान गएको छ ।
योसंगै गएको ९ महिनाभित्रा नेपालबाहेक १८ देशका २ सय ८१ जना नेपालीहरुको मृत्यु भएको संघले जनाएको छ । योसाता बेल्जियम, स्पेन, नेदरल्याण्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।
गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझ सम्म ४२ देशका ४० हजार ७ सय ३५ नेपाली कोरोना संक्रमित भएका छन् । ती मध्ये ३६ हजार ६ सय ७३ जना नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन् ।
कोरोना महामारी नियन्त्रणको नेतृत्व विज्ञलाई दिन सुझाव,
सरकार समयमा गम्भिर नहुदाँ कोरोना संक्रमणमा बृद्धि भएको गैरआवासीय नेपाली संघको जारी दोस्रो विज्ञ सम्मेलनका बक्ताहरुले बताएका छन् । सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वशिक्षामन्त्री डा गंगालाल तुलाधारले कोभिड–१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसकेको बताए । ‘सरकार होपलेस देखियो, पूर्वतयारी र न्यूनीकरणको कामै भएन ।’
सरकारसँग स्रोत पनि केही पनि छैन भन्नुपर्ने भो, ‘गैरआवासिय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा डा तुलाधारले भने । शनिबार भएको ‘महामारी र प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्वतयारी र न्यूनीकरण’ सत्रमा विपद् व्यवस्थापन विज्ञ तुलाधारले विपद् व्यवस्थापन तीनवटै तहका सरकारको साझा अधिकार भए पनि समन्वय नै हुन नसक्दा कोभिड–१९ का कारण ६ सय जनाको ज्यान गएको र संक्रमितको संख्या एक लाख नाघेको बताए ।
‘विपद् र महामारी नियन्त्रणका लागि तीनवटै सरकारका भूमिकाबारे संविधानमै स्पष्ट छ। जिम्मेवार नेतालाई थाहा छ, तर हामी इमान्दार छैनौं,’ तुलाधरले भने । विपद् व्यवस्थापन विज्ञ तुलाधारले एनआरएनएलाई पनि विपद् तथा महामारीसँग जुध्न स्थायी प्रकृतिको संरचना बनाउन आग्रह गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले काठमाडौंमा आइसियु बेड पाउन नसकिने अवस्था आइलागेको बताउनुभयो। उहाँले विपद् तथा महामारीविरुद्ध स्थायी संरचना पर्याप्त कानुन रहे पनि राजनीतिक नेतृत्वमा बुझाइको कमी रहेको बताए । विपदको बेला राजनीतिक नेतृत्वले नियमितभन्दा बाहिरको स्रोत परिचालन गर्नसने भए पनि सरकार यो विषयमा चुकेको थापाले टिप्पणी गरे ।
पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माले राजनीतिक नेतृत्वले महामारी नियन्त्रणको नेतृत्व लिँदा सफल नभएको बताइन। एनआरएनए, आईसिसी उपाध्यक्ष डा बद्री केसीले एनआरएनलेले जहिल्यै पनि सहयोग गर्दै आएको बताए। नेपालमा बाढीपहिरो, आगलागी जस्ता विपद्का घटना हुन् वा २०७२ को भूकम्पमा एनआरएनएले प्रत्यक्ष सहयोग गरेको उल्लेख गर्दै डा केसीले अहिलेको कोभिड–१९ मा पनि उच्चस्तरीय समिति गठन गरेर संक्रमित एवं उद्धारको दस्ताबेज बनाएर काम भइरहेको बताए ।
एनआरएनए, स्वास्थ्य समिति संयोजक डा सन्जीव सापकोटाले पूर्वतयारी बिना महामारी नियन्त्रणको काम गर्न नसकिने बताउनुभयो। यो सत्रमा गैरआवासिय नेपाली संघका डा. अलिनी सुवेदी, डा कुस श्रेष्ठ, डा द्रोण रसाली, डा हेमराज शर्माले मन्तव्य व्यक्त गरेका थिए ।