लन्डन । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुने विदेशमा रहेका नेपालीहरुको संख्या २ सय ६५ पुगेको छ । पछिल्लो साता विदेशमा थप २१ जना नेपालीको ज्यान गएसंगै यो संख्या २ सय ६५ पुगेको हो । यसरी विदेशमा मृत्यु हुनेमा कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जनाको ज्यान गएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जानकारी दिएको छ ।
शनिवार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको हो । यसैगरी नेपालमा ४ सय ६७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । कोरोना भाइरसकै कारण नेपाल सहित विश्वभर छरिएका नेपाली मध्य ७ सय ३२ जनाको निधन भएको छ ।
यसैगरी ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएको समितिको तथ्याँकमा उल्लेख छ । ती मध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो । समितिका संयोजक डा. संजीव सापकोटाका यो साता पोर्चुगल,बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।
हावाबाट संक्रमण फैलिंदैन
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले नेपालमा हावाबाट कोरोना सर्छ भन्दै विभिन्न अनलाइन मिडियामा आएका समाचारप्रति सत्यता नभएको प्रष्ट पारेको छ । समितिका संयोजक डा. संजीव सापकोटाले भन्नुभया,े ‘दुई मिटर (६ फिट) सम्मको दुरीमा एक अर्काका कोरोना भाइरस सर्दैन् । कोनोना भाइरस हावाबाट अर्कोमा सर्ने सम्भवना निकै कम हुन्छ ।’ स्वास्थ्य समितिले कोरोना संक्रमणको जोखिम उच्च रहेको जानकारी दिँदै बाहिर निस्कने समय मास्क लगाउन (फेस कभर) गर्न आग्रह गरेको छ ।
लकडाउनपछि आत्महत्यामा वृद्धि
कोरोनाका कारण विश्वव्यापी लकडाउनपछि आत्महत्यामा भएको वृद्धिप्रति पनि चिन्ता व्यक्त गर्दै आफ्नो परिवारभित्र एकले अर्कोलाई प्रशस्त समय दिन पनि समितिले सुझाव दिएको छ ।
७८ हजार भन्दा बढीको उद्धार
कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका ७८ हजार ३ सय ४३ जनाको नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा हालसम्म ३२ देशबाट ७८ हजार ३ सय ४३ जनाको नेपालीको उद्धार गरिएको छ ।






