लन्डन । पछिल्लो साता बेलायतमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढ्दै गएपछि सरकारले कडा नियम लागू गर्न थालेको छ । कोरोना संक्रमित पोजिटिभ भएकाहरु सेल्फ आइसोलेशनमा नबसेको पाइएमा १० हजार पाउण्ड अर्थात करिब १५ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने समाचारमा जनाइएको छ ।
आउँदो सेप्टेम्बर २८ बाट यो नियम लागू गरिने सरकारले घोषणा गरेको छ । यसअघि आइसोलेशनमा बस्ने निर्देशिका जारी गरिएको भएपनि अब यसलाई अनिवार्य रुपमा लागू गरिने भएको छ ।
नियम उलंघन दोहोरिँदै गएमा जरिवाना पनि सोहि अनुरुप डब्लिदै जाने र सो रकम एक हजार पाउँददेखि १० हजार पाउण्डसम्म हुने बताइएको छ । आफ्ना कामदारलाई सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिन बेवास्ता गर्ने रोजगारदाताले पनि जरिवाना तिर्नुपर्नेछ ।
नयाँ नियमअनुसार निम्न आय भएकाको सेल्फ आइसोलेसन बस्नुपरेमा एक मुष्ट ५ सय पाउण्ड सम्म रकम प्राप्त गर्नेछन् । कोरोना भाइरससँग लड्नको लागि कडा नीति र यसको पालना नै महत्वपूर्ण भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।
पछिल्लो समय बेलायतमा कोरोना संक्रमितको संख्या र नयाँ संक्रमितको संख्या गत मे महिना पछिकै सबैभन्दा उच्च कायम भएको छ । युरोपमा समेत कोरोनाको दोस्रो तरंगको प्रभाव बढ्दै गर्दा बेलायतमा समेत कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएको हो ।
बढीमा ६ जनासम्म मात्र सामाजिक भेटघाट गर्न पाउने नियम यसअघि नै सरकारले लागू गरिसकेको छ । शनिबार सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सर २२ जनामा नयाँ संक्रमणको पुष्टि भएको थियो । यसैगरी २४ घन्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । यो संख्या गत मे पछिकै सबिभंदा उच्च रहेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयाए’ ले जनाएको छ ।
बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ हजार ७ सय ५९ पुगेको छ भने संक्रमितको संख्या ३ लाख ९० हजार भन्दा बढी पुगेको छ ।