काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्मकै उच्च भएको छ । पछिल्लो २४ घन्टामा थप एक हजार ५ सय ३९ जनामा नयाँ संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १० हजार २ सय ९४ जनामा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा ८ लाख ७२ हजार २ सय ७४ जनामा पीसीआर परीक्षण गरिसकिएको छ । यसैगरी बितेको २४ घन्टामा एक जहार ६८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म ४१ हजार ७ सय ६ जना कोरोना संक्रमित निको भएर घर फर्केको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५ सय ४१ र होम आइसोलेशनमा ७ हजार ७ सय १ जना रहेका छन् । पछिल्लो २४ घन्टामा थप ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सनाख्या ३ सय ७९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।